सूचनाको शक्ति - The Power Of Information

        

च्याउ खेतीमा रमाएकी तुलसा

दाङको तुलसीपुर उपमहानगरपालिका–ं६ मोतिपुरकी ५८ वर्षीया तुलसा बुढामगरले व्यावसायिक रुपमा च्याउ खेती थालेको डेढ दशकभन्दा बढी भयो । सामान्य लेखपढ बुढामगर आफू एक्लै च्याउखेतीमा रमाएको मात्र होइन कि उनले अहिले च्याउ उद्योग पनि खोलेकी छन् । उनले खोलेको सो उद्योगमा अहिले चार जनाले रोजगारी पनि पाएका छन् ।

यस व्यवसायबाट राम्रै आम्दानी गरेकी उहाँले वार्षिक रु आठ लाख जति बचत गर्ने गरेको जानकारी पनि दिए । सुरुमा एउटा महिला समूह गठन गरी सानो माटोको कच्ची घर भाडामा लिएर च्याउ लगाउन सुरुआत गरेको बताउने उनी अहिले यस क्षेत्रकै एक सफल महिला उद्यमीका रुपमा पनि परिचित भएकी छन् ।

उनी भन्छिन्, ‘यस खेतीबाट आर्थिकरुपमा सक्षम हुनुका साथै आत्मनिर्भर पनि बनेकी छु । अहिले राम्रै कमाई हुन थालेपछि पहिलेभन्दा काम गर्ने जाँगर पनि बढेर आएको छ ।’ च्याउ बिक्रीबाट हालसम्म बचत गरेको रकमबाट एक पक्की घर र केही सम्पत्ति जोड्न सफल भएकोे उनको भनाइ छ ।

एक सफल उद्यमी महिलाको रुपमा स्थापित भएकी उनले उत्पादन गर्ने ताजा च्याउबाट तयार गरीएको च्याउको अचार र सुकुटी दाङ तथा जिल्ला बाहिरका अन्य सहरसम्म पनि पुग्ने गरेको छ । च्याउ बाहिरी बजारसम्म पुग्ने गरेको र त्यसबाट राम्रो आम्दानी हुने गरेको उनको भनाइ छ ।

गत फागुनमा तुलसीपुरमा आयोजना गरिएको तुलसीपुर महोत्सवमा उनले एउटा स्टल भाडामा लिएर आफूले उत्पादन गरेका च्याउ र च्याउका परिकार तथा अन्य अर्गानिक तरकारी, सिस्नोको झोल, तरुल आदि राखेकी थिइन् । यस्ता स्थानीय मेला महोत्सवहरूमा अहिले पहिलेका तुलनामा मानिसहरूले यस्तै मौलिक तथा स्थानीय उत्पादन नै खोज्ने गरकाले आफू र आफूजस्ता अन्य उद्यमी उत्साही हुने गरेको उनले बताइन् ।

उनी भन्छिन्, ‘अहिले म निकै खुसी छु । दुई हप्तायता च्याउ र यसका परिकारहरू खरिद गर्ने मानिसको सङ्ख्या निकै बढेकाले आनन्द आएको छ । अबको चाहना आफ्ना उत्पादनहरू अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने रहेको छ । मलाई लाग्छ यस कार्यमा पनि हामी सफल हुन्छौँ होला ।’

उहाँले ताजा च्याउ प्रतिकेजी रु २२० सम्म, च्याउको सुकुटी प्रतिकेजी रु ३०० देखि ३८० सम्म र अचार प्रति केजी ५०० देखि ६०० सम्ममा बिक्री गर्दै आएकी छन् । सुरुका दुई वर्षमा गङगामाला च्याउ समूह खोलेर च्याउखेतीको सुरुआत गरेकी उहाँले अहिले आफ्नै च्याउ प्रशोसन केन्द्रसमेत सञ्चालन गरेकी छन् ।

करिब रु तीन लाखबाट निजी च्याउ उद्योग थालेको बताउने उनले हालसम्म च्याउखेतीबाटै रु एक करोड बराबरको पक्की घर खरिद गर्नुका साथै च्याउखेतीका लागि आवश्यक पर्ने सामग्री जोडेकी छन् । त्यसैगरी उनलाई उत्कृष्ट महिला उद्यमीका रुपमा साना तथा मझौला उद्योगबाट निःशुल्क च्याउ प्रशोधन मेसिन प्राप्त गरेकी छन् ।

उनले १४ वर्षसम्म महिला स्वास्थ्य स्वयम्सेविका भएर पनि काम गरेकी थिइने । यसैक्रममा जिल्ला भ्रमणमा गएका बेला चितवनमा च्याउखेती देखेपछि यसतर्फ आकर्षित भएको बताउँछिन् । दुई सन्तानकी आमा, सामान्य लेखपढ तुलसालाई उनका श्रीमान्को राम्रो सहयोग छ ।

उनले जिल्ला तथा केन्द्रीयस्तरका धेरै पुरस्कार समेत प्राप्त गरिसकेकी छन् । गत वर्ष पनि उनलाई तुलसीपुर उपमहानगरपालिले उत्कृष्ट महिला उद्यमीका रुपमा पुरस्कृत गरेको थियो । च्याउ खेती नेपालजस्ता देशका लागि उचित रहेको उनको अनुभव छ । धेरै कडा परिश्रम पनि गर्न नपर्ने र स्वास्थ्यका दृष्टिकोणले पनि फाइदाजनक मानिने च्याउको खेती नेपालमा उचित रहेको उनको अनुभव छ ।

त्यसैले पनि नेपालमा च्याउन किसान खासै मर्कामा नपरेका र च्याउ तथा च्याउको परिकार नेपाली बजारमा लोकप्रिय रहेको उनको भनाई छ । नेपालमै केही गर्न सकेमा ठूलो सङ्ख्याका युवा तथा युवती विदेश पलायन हुन नपर्ने उनको धारणा छ । पछिल्लो समयमा रोजगारीका लागि भन्दै दिनहुँ विदेश जाने नेपाली युवाको सङ्ख्या बढ्दै गएकोप्रति उनी खुसी छैनन् ।

उनी भन्छिन्, ‘पछिल्ला वर्षहरूमा धेरै महिला तथा पुरुष बेरोजगार भयौँ भन्दै विदेश जानुहुन्छ । दिनहुँ हजारौँको सङ्ख्यामा युवा विदेशिएका समाचारहरू सुन्ने गरेको पनि छु । तर यो गलत हो । वास्तवमा आफनै गाउँ ठाउँमा प्रसस्त अवसर छन् । हामीले ती अवसरबाट लाभ लिन सक्नुपर्छ । मैले नै राम्ररी कमाइ गरेकि छु भने अरु नेपालीले किन गर्न नसक्ने ?’

उनले नेपालका धेरै ठाउँमा च्याउ खेती गरेर मनग्गे आम्दानी गर्न सकिने अनुभव पनि सुनाइन् । त्यसैले विदेश जानुको सट्टा थोरै लगानी र केही मेहनत गरेर नेपालमै च्याउ खेती गर्न सकिने उनको सुझाव छ । अहिले नेपालको मलिलो जमिन बाँझै छोडेर युवाहरू विदेशिएकाले सरकारले पनि कृषि सम्बन्धी यस्तै कार्यक्रमहरू ल्याएर नेपाली युवालाई रोजगार बनाई स्वदेशमै रोक्नुपर्ने सुझाव दिन्छिन् ।

स्रोत : रासस
प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १८:४१