कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरका ७५ वर्षीय रामस्वरुप राना यतिबेला गाउँमा होली खेलाउन व्यस्त छन् । गाउँका राना थारू समुदायले रानालाई एक वर्षका लागि गाउँको ‘चाकर’ नियुक्त गरेपछि उनलाई गाउँमा होली खेलाउने जिम्मेवारी मिलेको हो । राना समुदायले बस्तीमा भलमन्सा, चाकर र भर्रा छान्ने प्रचलन कायम राखेका छन् ।
सोहीअनुसार चालु वर्षका लागि सुन्दरपुरमा राना बस्तीको चाकर चुनिएका रामस्वरुप रानाले होलीलाई घर–घर पुर्याइरहेका छन् । ‘चाकर चुनिएपछि घरघरमा पुगेर होली खेल्ने विषयमा बताउने र खेलाउने काममा व्यस्त छु,’ रानाले भने, ‘हाम्रो समुदायमा पूर्णिमादेखि सात दिनसम्म होली खेल्ने प्रचलन छ ।’
होली खकडेरा पर्व मनाएर विर्सजन गर्ने प्रचलन रहेको उनले बताए । केही दशकअघिसम्म खकडेरा पर्वपछि पनि महिना दिनसम्म होली खेल्ने प्रचलन थियो । त्यो अहिले हट्दै गएको छ । ‘होलीबाट सुन्दरपुरमा हामीले रु ४०–५० हजार सङ्कलन गरेका छौँ,’ उनले भने, ‘सङ्कलित रकम धार्मिक कार्यमै खर्च गर्छौँ ।’
उनले परम्रागत पहिरन लगाएर सबै उमेर समूहका नागरिकले होली खेल्ने गरेको बताए । ‘होली खेल्ने क्रममा घरमा पुगेकाहरूलाई भोजन गराउने प्रचलन पनि छ,’ उनले भने, ‘खेल्नेलाई मिष्ठान भोजन गराएर बिदा दिने प्रचलन पनि छ ।’ उनले राना समुदायको नयाँ पुस्ता परम्परागत होली पछ्याउँदै गइरहेको बताए ।
‘युवायुवती नै होलीमा निकै सक्रिय भएर खेलिरहेका छन्,’ उनले भने, ‘होली पुस्ता हस्तान्तरण पनि हुँदैछ ।’ होलीमा भगवान् श्रीकृष्ण, राम र शिवको लीलाको समेत गीतमार्फत चर्चा गर्ने गरिएको छ । कैलाली र कञ्चनपुरमा मात्रै बसोबास रहेको राना थारू समुदायको बस्तीमा यतिबेला होलीको रौनक छाएको छ ।
आफ्नो समुदायको भाषा, संस्कृतिको संरक्षण तथा पहिचानका लागि यो समुदायले होली खेल्ने गरेको स्थानीय बताउँछन् । त्यसैगरी बेदकोट नगरपालिका–६ सिसैयाका भोजराज रानाले थारू समुदायले जिउँदो र मरेको गरी दुई किसिमको होली मनाउने गरेको बताए । राना समुदायले ३० दिनसम्म (जिउँदो) होली र फागू पूर्णिमादेखि आठ दिनसम्म मरी होली (मरेको होली) चल्ने गरेको उनले बताए ।
फागू पूर्णिमाका दिन जलाइएको होलीको खरानीको टीका लगाउने प्रचलन छ । होलीको टीका लगाएको दिनदेखि राना समुदायको मरी होली सुरु हुन्छ । यो होली यही चैत १९ गतेसम्म सञ्चालन हुनेछ । थारू समुदायले सबैभन्दा ठूलो पर्व होलीलाई लिँदै आफ्नो भाषामा नाचगान र पहिरन लगाएर गाउँगाउँमा गएर रमाउने चलन छ ।
होलीपर्वमा वर्ष दिनभरिको दुःख बिर्सेर रमाउने, आफन्तसँग भेटघाट गर्ने र मीठो मिष्ठान खाने गरेको सम्बन्धित समुदाय बताउँछन् । होलीपर्वको राना थारू समुदायमा धार्मिक तथा सांस्कृतिक महत्व रहेको छ । दैत्य हृण्यकश्चपले शक्ति दुरुपयोग गरेर आफ्नै छोरा प्रह्लादलाई मार्न खोज्दा सत्यको जीत भएको र असत्यको पक्षमा रहेकी हृण्यकश्चपका बहिनी होलिका आगोमा भष्म भएको सम्झनामा राना थारूले होरी पर्व मनाउँछन् ।
यो पर्वका बेला नराम्रो त्यागेर राम्रो चिज तथा विचारधारा अगाल्ने जनविश्वाससमेत रहेको छ । युवायुवतीले रातिको समयमा होली नाचगान गरेर पर्व मान्ने प्रचलनलाई थारू समुदायमा जिउँदो होलीको सङ्ज्ञा दिइन्छ । राना थारूले होलीपर्वका अवसरमा आफ्नै समुदायको हरेक घरबाट गुइँठा र तोरीको सुकेको डाँठ चोरेर गाउँभन्दा खुला क्षेत्रमा थुपार्ने प्रचलन कायम छ ।
होलीको अन्तिम दिन भुसेन (देवताको मन्दिर)मा चराइ गरेर विसर्जन गरेपछि विधिवत रूपले होरीपर्वको समापन हुने गर्दछ । भीमदत्त नगरपालिका–१४ स्थित राना थारू सामुदायिक घरबास (होमस्टे)का सचिव चेतराम रानाले मरी होलीको रौनकता बढेको बताए । ‘एक महिनासम्म खेल्ने गरेको जिउँदो होली खेल्ने क्रम हटिरहेको छ, उनले भने, ‘समय क्रमअनुसार यो होलीको प्रभाव घट्दै गयो ।’
समाचारको लागि
फोन : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
विज्ञापनका लागि
Phone : ०८१-५९०५०९, ९८५८०४००६४, ९८५८०७४२५०
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । कञ्चनपुर