सूचनाको शक्ति - The Power Of Information

        

खेलाडी सुब्बाको जीवनीमा बन्यो चलचित्र ‘अञ्जिला’

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण गरिएको छ । उक्त चलचित्र २०८१ माघ ११ गते प्रदर्शन गर्ने तय गरिएको छ । ‘अञ्जिला’का निर्देशक मिलन चाम्सले इलामको आइतबारे आसपासमा छायाङ्कन गरिएको उक्त चलचित्रमा मुख्य भूमिकामा स्वयम् खेलाडी सुब्बाले नै अभिनय गरेका छन् ।

दर्शक र खेलाडीका लागि प्रेरणाको स्रोत बन्न सक्ने भएकाले सो चलचित्र निर्माण गरिएको निर्देशक चाम्सले बताए । ‘प्रेरणाको स्रोत बन्न सक्ने व्यक्तिको कथा हामीले भन्न जरुरी छ । एञ्जिलाले गरेको सङ्घर्ष र प्राप्त गरेको सफलताले धेरैलाई प्रेरणा दिनेमा विश्वस्त छु, यो उनको जीवनीमा आधारित रहे पनि प्रस्तुतीकरण चलचित्रकै शैलीमा छ,’ निर्देशक चाम्सले भने । उनले सार्वजनिक प्रदर्शन अगाडि बेलायत, हङकङ लगायतका ठाउँमा प्रथम प्रदर्शनी गरिने जानकारी दिए ।

दुवै आँखाको ज्योति गुमाएर पनि धेरैको जीवन जिउने प्रेरणा बन्न सफल हुनुभएकी सृष्टि केसीको जीवनीमा ‘ब्लाइड रक्स’ चलचित्र निर्देशन गरेका निर्देशक चाम्सले अञ्जिला तयार पारेका हुन् । उक्त चलचित्रमा खेलाडी सुब्बासँगै अभिनेता दयाहाङ राई, अभिनेत्री मिरुना मगर, सिर्जना सुब्बा, पशुपति राई, माओत्से गुरुङ, बुद्धि तामाङ, विजय बराल, हरि खड्का लगायतका कलाकारले अभिनय गरेका छन् । सो चलचित्रमा यम थापाले लेखन, मिलन श्रेष्ठले सम्पादन र सुदीप बरालले छायाङ्कन निर्देशन गरेका छन् ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १७:५७