सूचनाको शक्ति - The Power Of Information

        

कर्णाली पुलबाट हाम फालेका युवकको शव भेटियो

चार दिनअघि कैलालीको चिसापानी पुलबाट कर्णाली नदीमा हाम फाल्दा बेपत्ता भएका युवकको शव भेटिएको छ । कञ्चनपुर स्थायी घर भई कैलालीको लम्की–चुहा नगरपालिका–३ बस्ने ३० वर्षीय लोकेन्द्र शाहीले गत सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका थिए । शाहीको शव टीकापुरको सन्कट्टी घाटमा भेटिएको हो ।  शाहीको शव दुर्घटनास्थलबाट करिब १५ किलोमिटर तल भेटिएको थियो ।

बेपत्ता भएको चार दिनपछि बिहीबार शाहीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । घटनालगत्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले बेपत्ता शाहीको खोजी थालेको थियो । सोमबार दिउँसो कर्णाली पुलबाट हाम फालेका १७ जनामध्ये शाही मात्र नदीमा डुबेर बेपत्ता भएका थिए । हाम फाल्ने अन्य व्यक्ति पौडी खेलेर बाहिर निस्केका थिए । पुलबाट हाफ फाल्नुअघि उनीहरूले चिसापानीमा मदिरा सेवन गरेको खुलेको इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख प्रहरी निरीक्षक हरिराज डाँगीले बताए ।

प्रहरी निरीक्षक डाँगीका अनुसार पुलबाट कर्णालीमा हाम फाल्ने सबैजनाले शरीरको माथिल्लो भागको लुगा फुकालेका थिए । प्रहरीले उनीहरूलाई रोक्न खोजे पनि सामूहिक तस्बिर खिच्ने भन्दै चिसापानी बजारबाट पुलतर्फ निस्किएका थिए । उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरेको प्रहरी निरीक्षक डाँगीले बताए । उनका अनुसार सोधपुछका क्रममा नियन्त्रणमा लिएका एकजनाले त्यो दिन हाम फाल्ने कुनै पनि योजना नभएको बयान दिएका छन् ।

‘फोटो खिच्न पुलतर्फ गएका हौँ, पुलमा पुग्दा एक जनाले हाम फाले, उसलाई देखेर अरु सबैले पालैपालो कर्णालीमा हाम फाल्यौँ,’ पक्राउ परेकाहरूले सोधपुछका क्रममा भनेका प्रहरी निरीक्षक डाँगीले बताए । कर्णालीमा हाम फाल्नेहरू १७ देखि ४० वर्षसम्मका हुन् । उनीहरू होली खेल्दै चिसापानी बजार पुगेका थिए । उक्त घटनाबारे अनुसन्धान गर्न पुलबाट हाम फाल्ने आठ जनालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १७:२३

लोकप्रिय