सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा आइपिओ बेच्नेको घुइँचो

केही महिनादेखि ओरालो लागेको शेयर बजारमा प्राथमिक शेयर (आइपिओ) बेच्नेको घुइँचो लाग्न थालेको छ । बाँकेको नेपालगन्जस्थित इम्पेरियल सेक्युरिटिज प्रालि (ब्रोकर कार्यालय)मा दोस्रो बजारबाट शेयर खरिद गर्नेभन्दा सर्वोत्तम सिमेन्टलगायतका कम्पनीको शेयर बेच्नका लागि खाता खोल्न लगानीकर्ताको घुइँचो लाग्ने गरेको छ ।

इम्पेरियल सेक्युरिटिज प्रालि, नेपालगन्जका प्रमुख उदय अधिकारीले भने, ‘अपवादका रुपमा केही लगानीकर्ताले दोस्रो बजार (सेकेण्डरी मार्केट) बाट कारोबार गरेका छन् । तर ट्रेडरहरु कम छन् ।’ अस्थिर राजनीति र व्यवसायीप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नभएकाले शेयर बजार उकालो लाग्न नसकेको उल्लेख गर्दै प्रमुख अधिकारीले ठूलाठूला लगानीकर्ता बजारमा प्रवेश गर्न नसकेको धारणा व्यक्त गरे ।

ठूला घरानाका लगानीकर्ता शेयर बजारमा प्रवेश नगरेसम्म बजार उकालो लाग्न नसक्ने तर्क गर्दै उनले लगानीकर्ताको विश्वास बजारप्रति टुट्दै गएको बताए । ‘बजार चलायमान नभएका कारण शेयर बजारमा उत्साह आउन सकेको छैन । अहिले त शेयर खरिद गर्नेभन्दा बेच्ने नै बढी छन्,’ उनले भने ।

कतिपय लगानीकर्ताले घाटा खाएर पनि शेयर बेचेको जानकारी दिँदै त्यस्ता लगानीकर्ता करिब ३०० भएको उल्लेख गरे । नियमित ट्रेड गर्ने ९० प्रतिशत लगानीकर्ताले घाटा खाएर नै शेयर बेचेको भन्दै उनले अन्य क्षेत्र चलायमान छैन भन्ने कुरा शेयर बजारले देखाइरहेको जिकिर गरे । उद्योगधन्दा, कलकारखाना लगायत व्यवसाय राम्रोसँग सञ्चालन नहुँदा त्यसको असर यस क्षेत्रमा समेत परेको छ ।

ट्रेडरहरुले छोटो समयमा नै नाफा भए नभए पनि घाटा खाएर पनि बेचेका हुन्छन । उनीहरुले ‘स्टप लस’ गरेर नै शेयर बेचेका हुन्छन् । वित्तीय साक्षरताका विषयमा हुने विभिन्न कार्यक्रमले पनि शेयर बजार बढाउन सहयोग गर्न गरेको छ । असोज र कात्तिकमा कम्पनीका बोनसको लहर आएको थियो । तर ती सबै अधिकांश कम्पनीका बोनस सकिएका छन् । केही कम्पनीको बाँकी भएको बताइएको छ ।

सूचनाका हिसाबले अहिले शेयर बजारको अफ सिजन भएको बजारका जानकार बताउँछन् । अहिले ब्रोकर कार्यालयलाई पनि दैनिक कार्यालय सञ्चालन गर्न नै धौधौ हुने स्थिति आउन थालेको छ जुन चिन्ताको विषय भएको प्रमुख अधिकारीको भनाइ छ । नेपालगन्जका लगानीकर्ता प्रशान्त लामिछानेले धेरै पटक घाटा खाएर शेयर बेच्न परेको उल्लेख गर्दै पुँजी बजारमा आर्थिकमन्दीको प्रभाव नहटेको बताए ।

अर्थतन्त्रमा पुँजी बजारको योगदानका विषयमा नीतिगत समस्याको पहिचान नहुँदा त्यसले बजार घटाउन मद्दत गरेको तर्क गर्दै उनले नीतिगत सुधारपछि मात्रै शेयर बजार चलायमान हुने उल्लेख गरे । अर्का शेयर लगानीकर्ता कुलप्रसाद शर्माले कम घाटा खाएर बजारको अवस्था हेरेर शेयर बेच्न बाध्य भएको जानकारी दिँदै बजारमा धैर्यता पनि आवश्यक भएको धारणा व्यक्त गरे ।

लगानीकर्ता विकास भट्टराईले शेयर बजारमा अहिले पर्ख र हेरको अवस्थामा लगानीकर्ता रहेको उल्लेख गर्दै बैंकसँगको अधिक तरलता, घट्दो ब्याजदर रहेको हुँदा अहिलेको समय दीर्घकालीन लगानीकर्ताका लागि लगानी गर्ने सुनौलो अवसर भएको बताए । इम्पेरियल सेक्युरिटिज प्रालिले नेपालगन्जमा दैनिक रु एक करोडदेखि दुई करोडको हाराहारीमा शेयर कारोबार गर्दै आएको छ । यसबाहेक नेपालगन्जमा कालिका सेक्युरिटीजले पनि शेयर कारोबार गर्दै आएको छ ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार १६:४२

लोकप्रिय