सूचनाको शक्ति - The Power Of Information

        

ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा

पछिल्लो समय आयुर्वेद उपचार पद्धतिप्रति बाँकेका स्थानीय बासिन्दाको आकर्षण बढ्दै गएपछि जिल्लाका ग्रामीण क्षेत्रमा पहिलो पटक आयुर्वेद थेरापी सेवा सुरु भएको छ ।

बाँकेको राप्ती सोनारी गाउँपालिका –९ ढकेरीस्थित नागरिक आरोग्य सेवा केन्द्रमा पूर्वकर्म तथा पञ्चकर्म (थेरापी) सेवा पहिलो पटक सुरु गरिएको हो । राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले सो सेवाको शुभारम्भ गर्दै आयुर्वेद उपचार पद्धति र योग शिक्षाप्रति मानिसको आकर्षण बढ्नु स्वास्थ्यका लागि राम्रो भएको बताउनुभयो ।

नशा च्यापिएका, बाथरोग, मोटोपन घटाउने लगायतको समस्या आयुर्वेद थेरापीबाट समाधान गर्न सकिने आयुर्वेद शाखा प्रमुख अञ्जना थारुले बताउनुभयो । सेवाग्राहीको रोग पहिचान गरी उपचारमा सहजता थप्न पूर्वकर्म तथा पञ्चकर्म थेरापीले ठुलो भूमिका निर्वाह गर्ने उहाँले बताउनुभयो ।

आयुर्वेद शाखा प्रमुख थारुका अनुसार सो नागरिक आरोग्य सेवा केन्द्रमा ओपिडी सेवा, निःशुल्क औषधी वितरण, ज्येष्ठ नागरिक स्वास्थ्य प्रवर्धनका लागि रसायन औषधी वितरण, सुत्केरी महिलालाई लक्षितगरी स्तनपायी सेवा, दुग्धवर्धक र सुरक्षात्मक औषधी वितरण, विद्यालय आयुर्वेद तथा योग शिक्षालगायतका सेवाहरू प्रवाह गरिनेछ । त्यसैगरी नसर्ने रोगको न्यूनीकरणमा समेत सेवा केन्द्रले सन्देश प्रवाह गर्नेछ ।

चिकित्सा विज्ञानसँगै आयुर्वेद उपचारलाई पनि पालिकाले प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले जनाएको छ । पछिल्लो समय मानिसको दैनिक जनजीवन अस्तव्यस्त भइरहेकाले बढ्दो नसर्ने रोगको न्यूनीकरणका लागि यो उपचार पद्धति पनि प्रभावकारी उपाय भएको छ ।

आयुर्वेद थेरापी सेवा शुभारम्भ कार्यक्रममा पालिका उपाध्यक्ष मनिसासिंह थारु, प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटा, बाँके आयुर्वेद केन्द्रका प्रमुख डा. गीता रेग्मी, वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा. अनिलकुमार थारु, वडा ८ का वडाध्यक्ष शालिकराम डाँगी, वडा ९ का वडा अध्यक्ष सोहनलाल थारु, वडा सदस्य राधिका सुनार, महादेवपुरी स्वास्थ्यचौकीका प्रमुख नवराज शाह, खजुरा आयुर्वेद शाखा प्रमुख किरण खनाललगायत महिला स्वयंसेविका, आमा समूह, महिला समूह, ज्येष्ठ नागरिकहरूको उपस्थिति थियो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार ०७:५४

लोकप्रिय