सूचनाको शक्ति - The Power Of Information

        

वाटरपार्कमा जारी सातौं प्रादेशिक महोत्सब सम्पन्न

नेपालगन्जको वाटरपार्कमा जारी सातौं प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवंम पर्यटन महोत्सव सम्पन्न भएकोछ ।

यही चैत्र ६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने भनिएको महोत्सव आठौं दिन आज बुधबार समापन गरिएकोछ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको बसेको आपतकालिन बैठकले यस्तो निर्णय गर्दै महोत्सव समापन गरेको जनाएकोछ ।

दिनहुँ स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारको प्रस्तुती भइरहेको महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्दा आयोजकलाई दिनहुँ ३ लाखको आर्थिक क्षति व्यहोर्नु परेको थियो ।

आयोजक महासंघकी अध्यक्ष मधुकुमारी खड्काका अनुसार एसईइ लगायत विद्यालयको वार्षिक परीक्षाको समय हुनु, महोत्सव स्थल नजिक भएपनि सबैलाई पाएक नपरेको, बढ्दै गएको गर्मी र मौसमको चुनौती तथा दर्शकको उल्लेख्य सहभागिता हुन नसक्नु लगायतका विविध कारण देखाउँदै महोत्सव विचैमा समापन गर्नुपरेको जानकारी दिनुभयो ।

आयोजकले महोत्सव अवधिभर भब्य र सभ्य रुपमा सफल बनाउन सहयोग गर्नुहुने उद्योगी, व्यवसायी, राजनीतिक दल, संघसस्था, सञ्चारकर्मी, समर्थक, शुभेच्छुक, सुरक्षाकर्मी र जिल्लाबासी समक्ष धन्यबाद ज्ञापन समेत गरेकोछ ।

चैत्र ६ गतेदेखि सञ्चालित महोत्सवमा १७५ स्टल प्रर्दशनीमा राखिएकोछ । जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका थिए ।

महोत्सव अवलोकनका लागि टिकटको मूल्य १०० राखिएको थियो भने विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सह–आयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेका थिए ।

प्रकाशित मिति : १५ चैत्र २०८०, बिहीबार ०७:४२

लोकप्रिय