सूचनाको शक्ति - The Power Of Information

        

फत्तेबाल आँखा अस्पतालले निःशुल्क आँखा शिविर सञ्चालन गर्दै

नेपालगन्जको फुल्टेक्रास्थित फत्तेबाल आँखा अस्पतालले कोहलपुर नगरपालिकाका विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागेको छ।

नेपाल नेत्रज्योति संघ, फत्तेबाल आँखा अस्पताल फुल्टेक्रा नेपालगन्जको आयोजना र कोहलपुर नगरपालिकाको समन्वयमा कोहलपुरका विभिन्न स्थानमा आजदेखि चैत २२ गतेसम्म निःशुल्क आँखा शिविर सञ्चालन गर्न लागिएको अस्पतालका प्रबन्ध निर्देशक डा. कौशलकुमार बर्माले जानकारी दिनुभयो।

डा.बर्माका अनुसार आजदेखि सञ्चालन हुने उक्त शिविरमा आज पहिलो दिन आधारभूत स्वास्थ्य केन्द्र कौशल्या नगर र आधारभूत स्वास्थ्य केन्द्र सालको बोटमा सर्वसाधारणको निःशुल्क आँखाको परीक्षण गरिनेछ।

त्यसैगरी १५ गते आधारभूत स्वास्थ्य केन्द्र मदनचौक र स्वास्थ्य चौकी रझेना, १६ गते आधारभूत स्वास्थ्य केन्द्र एनसिसिएन र आधारभूत स्वास्थ्य केन्द्र रझेनामा र १८ गते आधारभूत स्वास्थ्य केन्द्र लखनवार र आधारभूत स्वास्थ्य केन्द्र पिपरीमा आँखा शिविर सञ्चालन हुनेछ।

त्यसैगरी चैत १९ गते आधारभूत स्वास्थ्य केन्द्र झण्डहवा र आधारभूत स्वास्थ्य केन्द्र चटार, २० गते स्वास्थ्य चौकी कोहलपुर र आधारभूत स्वास्थ्य केन्द्र चप्परगौढी, २१ गते शम्सेरगन्ज स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य केन्द्र हवल्दारपुरमा र चैत २२ गते आधारभूत स्वास्थ्य केन्द्रमा खड्गवारमा निःशुल्क आँखा शिविर सञ्चालन गरिने डा. बर्माले जानकारी दिनुभयो।

उहाँका अनुसार शिविरमा मोतिबिन्दु रोग पत्ता लागेका सर्वसाधारणका लागि अस्पतालमा लाग्ने शुल्कको ५० प्रतिशत छुट गरी सहुलियतमा शल्यक्रिया गरिने पनि जानकारी दिनुभयो।

आँखा अस्पतालले हाल मोतिबिन्दुको शल्यक्रियाका लागि आठ हजार रुपियाँ शुल्क लिँदै आएको र निःशुल्क शिविरमा भेटिएका मोतिबिन्दुका विरामीका लागि ५० प्रतिशत सहुलियत गरी चार हजार रुपियाँमा मात्र शल्यक्रिया गरिदिने व्यवस्था गरेको डा. बर्माले बताउनुभयो।

फत्तेबाल आँखा अस्पतालले समय समयमा जिल्लाका विभिन्न क्षेत्रमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १६:१२

लोकप्रिय