सूचनाको शक्ति - The Power Of Information

        

३० वर्षदेखि परिवारवादले बन्धक एमाले, विद्यादेखि सुहाङसम्म

आगामी बैशाख १५ गते इलाम–२ मा उपनिर्वाचन हुँदैछ । ०७९ को आम निर्वाचनमा इलामबाट निर्वाचित संविधानसभा अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवास नेम्वाङको भदौ २६ गते निधन भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।

एमालेका नेम्वाङ त्यस क्षेत्रमा ०५६ सालदेखि लगातार ५ पटक निर्वाचित हुँदै आएका थिए । उनको निधनपछि भने एमालेले उनै स्वर्गिय नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाएको छ । कानुन व्यवसायीसमेत रहेका सुहाङ बावुको निधनपछि मात्र एमालेको सक्रिय राजनीतिमा लागेका हुन् ।

राजनीतिमा परिवारबाट उत्तराधिकारी चयन गर्ने दलमध्ये एमाले अगाडि छ । योग्य, अनुभवी, क्षमतावान् कार्यकर्तालाई किनारा लगाएर परिवारवादलाई संरक्षण गरेको आरोप एमाले नेतृत्वले भोगेको धेरै अगाडिदेखि हो । प्रजातन्त्रको पुर्नस्थापनापछि भएका जुनसुकै उपचुनावमा एमालेले परिवारभित्रकै व्यक्तिलाई उम्मेदवार बनाउँदै आएको छ ।

उपचुनावमा आफ्नै परिवारका व्यक्तिलाई उम्मेदवार बनाएको आरोप ०५० सालदेखि खेप्दै आएको एमालेले ३० वर्षपछि ०८० सालमा पनि वर्षौसम्म पसिना बगाएका नेतालाई पाखा लगाएर केपी ओलीले ३२ वर्षीय सुहाङलाई टपक्कै टिपेर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाएका हुन् । परिवारबाटै राजनीतिक उत्तराधिकारी चयन गर्ने एमालेको प्रवृत्ति नयाँ भने होइन ।

एमालेले उपनिर्वाचनमा सुहाङलाई मात्र नभएर यसअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, कमला शर्मा, विद्या भट्टराई र विमला खत्री वलीलाई पनि उम्मेदवार बनाएर मैदान उतारेको थियो । निर्वाचित सांसद्को पदावधि नसकिँदै निधन भएमा उनकै परिवारका सदस्यलाई उम्मेदवार बनाउने परिपाटी पछिल्लो समय दलहरुमा बढ्दो देखिन्छ ।

विद्यादेवी भण्डारी

नेकपा एमालेका तत्कालीन महासचिव मदनकुमार भण्डारी ०४८ सालको निर्वाचनमा काठमाडौं ५ बाट तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई भारी मतले हराउँदै संसद्मा निर्वाचित भएका थिए । एमालेले मार्गदर्शनको रुपमा लिँदै आएको जनताको बहुदलीय जनवादका प्रणेता भण्डारी संसद्मा करिब २ वर्षमात्रै रहँन पाए ।

०५० सालको जेठ ३ गते रहस्यमय रुपमा चितवनको दासढुंगामा जीप दुर्घटनामा परेर भण्डारीको निधन भयो । बाहालवाला प्रधानमन्त्रीलाई नै हराएर संसद्मा निर्वाचित भएका भण्डारीको निधन भएपछि सोही वर्षको माघमा उपचुनाव भयो । उपचुनावमा एमालेले उनै भण्डारीकी श्रीमती विद्यादेवी भण्डारीलाई मैदानमा उतार्यो ।

मदनले जस्तै विद्याले पनि भट्टराईलाई भारी मतले पराजित गरि संसद्मा पुगिन् । उपचुनावमार्फत संसद्मा प्रवेश गरेकी भण्डारी संसदीय निर्वाचनमा लगातार ३ पटक प्रत्यक्षतर्फबाट निर्वाचित हुँदै नेपालकै पहिलो महिला रक्षामन्त्री हुँदै कालान्तरमा मुलुककै पहिलो महिला राष्ट्रपतिको कुर्सीमा आसिन भईन्, भण्डै ८ वर्ष ।

कमला शर्मा

विद्या भण्डारीजस्तै उपचुनावबाट संसद्मा पुग्ने अर्की एमाले नेतृ हुन् कमला शर्मा । पहिलो संविधानसभा निर्वाचनमा सुर्खेत १ का उम्मेदवार रहेका ऋषि शर्माको चुनाव प्रचारकै क्रममा भेरीगंगा नगरपालिकाको मैनतडामा हत्या भयो । निर्वाचनको मुखैमा शर्माको हत्या भएपछि तोकिएकै समयमा सुर्खेत १ मा निर्वाचन भएन ।

०६५ वैशाख ७ गते भएको उपचुनावमा स्वर्गिय शर्माकै श्रीमती कमलालाई एमालेले मैदानमा पठायो । प्रतिद्वन्द्वी कांग्रेस नेता लालबहादुर घलेलाई पराजित गरिन् । शर्मा तीनै एमाले नेतृ हुन् जसले संविधानसभाको पहिलो बैठकस्थलमै आफ्नो पतिको हत्या गर्ने भन्दै नेपाली कांग्रेसका तत्कालीन महामन्त्री एवं हालका उपसभापति पूर्णबहादुर खड्कालाई चप्पलले हिर्काएकी थिइन् । यद्यपि, शर्माको हत्या उनकै पीएसओले गरेको अदालतले ठहर गरेको थियो ।

विद्या भट्टराई

०७४ साल मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा कास्की २ बाट तेस्रो पटक निर्वाचित भएका एमालेका युवा नेता रवीन्द्र अधिकारी केपी शर्मा ओली नेतृत्वको सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री नियुक्त भएका थिए । विद्यार्थी राजनीतिबाट उदाएका अधिकारी कास्कीका जनतामाझ अत्यन्तै लोकप्रिय मानिन्थे ।

तर, मन्त्री रहेकै अवस्थामा ०७५ सालको फागुन १५ मा ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा उनको निधन भयो । मन्त्री अधिकारीको निधनपछि ०७६ मंसिरमा भएको उपनिर्वाचनमा एमोलले अधिकारी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनायो । उपनिर्वाचनमार्फत विद्या पनि शानदार मतसहित संसद्मा पुगिन् । उनी हालपनि दोस्रो चोटी प्रतिनिधि सभामा सांसद छिन् ।

विमला खत्री ओली

०७४ सालको प्रदेशसभा निर्वाचनमा दाङ ३ को (ख) बाट निर्वाचित उत्तरकुमार ओलीको ०७५ फागुमा १० गते सडक दुर्घटनामा निधन भयो । उत्तरको निधनपछि रिक्त प्रदेश सभामा एमालेले उनकै पत्नी विमला खत्री ओलीलाई उम्मेदवार बनायो । उनले पनि चुनाव जितिन् । उपनिर्वाचनबाट उम्मेदवार बनेर प्रदेश सभामा पुगेकी खत्रीले आफ्नै पार्टीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार ढालेर माओवादीको नेतृत्वमा सरकार बनाउन भूमिका खेलिन् ।

एमालेका महासचिवसमेत रहेका लुम्बिनीका संस्थापक मुख्यमन्त्री शंकर पोखरेलकै जोडबलमा उपचुनावको टिकट हात पारेकी विमलाले पछि उनै पोखरेललाई सत्ताबाट पदच्युत गराउन निर्णायक भूमिका खेलिन् । एमाले छाडेर माओवादी केन्द्रमा प्रवेश गरेर केही महिना राज्यमन्त्री बनेकी उनी हाल माओवादीमा पनि छैनन् । उनी राजनीतिमा गुमनामजस्तै छिन् । पारिवारिक सदस्यहरूलाई नै उम्मेदवार बनाउन प्राथमिकता दिनुमा मुख्यगरी दुई कारण रहेको नेताहरु बताउँछन् ।

पहिलो त निर्वाचन नै संवेदनासँग जोडिन्छ । जस्तो विद्या भण्डारीलाई उम्मेदवार बनाउँदा मदनको मृत्युको संवेदना जोडियो । जसले गर्दा मतदाताले विद्यालाई मत दिने सम्भावना बढ्यो । दोस्रो, आफ्नो पार्टीको उम्मेदवार चिनाउन सजिलो हुन्छ । उम्मेदवार परिचित हुने भएकाले प्रचारप्रसारमा सजिलो हुन्छ । त्यसो हुँदा जित्न सजिलो हुन्छ । एमालेले परिवारका सदस्यबाट उम्मेदवार बनाइएकाहरूले हारेका पनि छैनन् ।

पारिवारिक सदस्यहरूलाई नै उम्मेदवार बनाउन प्राथमिकता दिनुमा मुख्यगरी दुई कारण रहेको नेताहरु बताउँछन् । पहिलो त निर्वाचन नै संवेदनासँग जोडिन्छ । जस्तो विद्या भण्डारीलाई उम्मेदवार बनाउँदा मदनको मृत्युको संवेदना जोडियो । जसले गर्दा मतदाताले विद्यालाई मत दिने सम्भावना बढ्यो । दोस्रो, आफ्नो पार्टीको उम्मेदवार चिनाउन सजिलो हुन्छ । उम्मेदवार परिचित हुने भएकाले प्रचारप्रसारमा सजिलो हुन्छ । त्यसो हुँदा जित्न सजिलो हुन्छ । एमालेले परिवारका सदस्यबाट उम्मेदवार बनाइएकाहरूले हारेका पनि छैनन् ।

तर सुहाङलाई भने उपिनर्वाचन जित्न सजिलो छैन । सुहाङले अन्य महिला उम्मेदवारलाई जसरी विधवा सहानुभूतिको मत पाउने छैनन् । ३२ वर्षीय सुवाङसँग केही वर्ष वकालत गरेको बाहेक अन्य अनुभव छैन । उनी संगठन परिचालनमा शून्यजस्तै छन् । इलाममा एमाले राजनीतिमा योगदान दिएका धेरै नेताले अवसर पाएका छैनन् । क्षमतावान् कैयौँ कार्यकर्ताहरू लामो समयदेखि सुवासको छायामा पर्दै आएका थिए । फेरि पनि उनकै परिवारलाई अवसर दिएका कारण इलाम–२ का एमाले कार्यकर्ता त्यति सन्तुष्ट छैनन् ।

स्रोत : दृष्टिन्यूज
प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ११:४३

लोकप्रिय