सूचनाको शक्ति - The Power Of Information

        

चार ‘लेन’को महाकाली पुल निर्माणको अन्तिम चरणमा

महाकाली नदीमा निर्माणाधीन चार ‘लेन’को पुलको काम पाँच महिनापछि पुनः सञ्चालन भएको छ । निर्माण कम्पनीले बाँकी काम छ महिनाभित्र सक्नेगरी सुरु गरेको जनाइएको छ । विसं २०७४ मा निर्माण सुरु भएको चार लेनको पक्की पुलसँगै आठ दशमलव छ किलोमिटर छ लेन सडक निर्माणको ९० दशमलव १९ प्रतिशत वित्तीय प्रगति भइसकेको छ ।

निर्माण कम्पनी कुमार–सिएफइसी जेभीका इन्जिनियर किशोरराज पाण्डेयले गत वर्षको काम गरेबापत रु आठ करोड ५० लाख रकम हालै कम्पनीलाई प्राप्त भएको जानकारी दिए । इन्जिनियर पाण्डेयले पुलसँगै निर्माण हुने पोखरीको तटबन्ध डिजाइन स्वीकृत भएर ‘भेरिएसन’का लागि सडक विभागमा पुर्याउने प्रक्रियामा रहेको जानकारी दिए ।

‘भेरिएसनका कारण अझै रु १५ करोड बक्यौता छ,’ उनले भने, ‘गत वर्षको रकम पाएपछि हामीले बाँकी निर्माणको काम थालिसकेका छौँ ।’ उनले आठ दशमलव छ किलोमिटर छ लेनको पहुँच मार्गमध्ये एक हजार ५०० मिटर सडक कालोपत्र गर्न बाँकी रहेको बताए । ‘रकम अभाव लगायतका कारण नभए छ महिनाभित्र पुलको सबै काम सकिन्छ,’ इन्जिनियर पाण्डेयले भने ।

पुलको लागत रु तीन अर्ब ६६ करोड हो । पुलको दुवैतर्फ बाँध बाँधेर पर्यटकीयस्थल हुनेगरी पोखरी निर्माण गरिएको छ । पुलको उत्तरतर्फ एक वर्गकिलोमिटरभन्दा ठूला दुईवटा पोखरी र दक्षिणतर्फ शून्य दशमलव तीन वर्गकिलोमिटरका दुईवटा पोखरी निर्माण भएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार १०:४९

लोकप्रिय