सूचनाको शक्ति - The Power Of Information

        

परीक्षा कसरी दिने ? कसरी राम्रो अंक ल्याउने ? केही ‘टिप्स’

विद्यार्थीको सिकाइ र बुझाइको मापन गर्न, उपलब्धि देखाउन, लक्ष्य प्राप्तिमा सहयोग गर्नका लागि परीक्षा लिने गरिन्छ । हरेक विद्यार्थीको एउटै लक्ष्य हुन्छ कि परीक्षा कसरी पास गर्ने, कसरी राम्रो अंक ल्याउने । यही कुरामा जोड दिन्छन् अभिभावक र शिक्षकले पनि । नेपालभरिका सबै विद्यालयहरूमा यही चैत महिनाको पहिलो वा दोस्रो सातामा अन्तिम परीक्षा सुरु भएको छ वा हुँदैछ ।

हाम्रो मूल्यांकन प्रणाली अनुसार कक्षा ३ सम्म सम्पूर्ण रूपमा आन्तरिक मूल्यांकन गर्ने, कक्षा ४ देखि कक्षा ८ सम्म आन्तरिक र बाह्य मूल्याङ्कन ५०–५० प्रतिशत तथा कक्षा ९ र १० मा आन्तरिक २५ प्रतिशत र बाह्य ७५ प्रतिशत गरी मूल्यांकन गर्नुपर्ने निर्दिष्ट गरिएको छ । त्यसैगरी १९९० सालबाट सुरूवात भएको तत्कालीन एसएलसी तर हालको माध्यमिक शिक्षा परीक्षा (एसईई) यही चैत १५ गतेबाट सुरू हुँदैछ जसमा झण्डै ५ लाख विद्यार्थी सहभागी हुँदैछन् ।

यस परीक्षाको लागि ५ लाख ४ हजार ४१४ जनाले परीक्षाको फारम भरेका छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार एसईईको तयारी अन्तिम चरणमा पुगेको बेला यसपटक ३५ प्रतिशत नम्बर नल्याउने विद्यार्थी फेल हुनेछन् । न्यूनतम ‘बी’ ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत अनिवार्य ल्याउनुपर्ने हुन्छ । यसपटक नयाँ लेटर ग्रेडिङ निर्देशिका अनुसार न्यूनतम बी ग्रेड ल्याउनको लागि सैद्धान्तिकमा ३५ प्रतिशत र प्रयोगात्मकमा ४० प्रतिशत अनिवार्य गरिएको छ ।

विगतमा भन्दा यो पटक सैद्धान्तिक र प्रयोगात्मक दुवैमा छुट्टा–छुट्टै अङ्क ल्याउनुपर्ने व्यवस्था गरिएको हो । हाम्रो परिवेशमा परीक्षाका बेला बालबालिकाहरूमा एक प्रकारका मानसिक तनाव सिर्जना हुन्छ । अझ फरक विद्यालयमा गएर परीक्षा दिने कुराले कतिपय बालबालिकामा मनोवैज्ञानिक त्रास उत्पन्न हुने गर्दछ । यो मूलतः हाम्रो परीक्षा प्रणालीको कारणले हो । परीक्षा आयो भनेर शिक्षक, अभिभावक तथा आफन्तले तनाव दिइरहेको समेत भेटिन्छ ।

हाम्रा बालबालिकाहरूलाई जीवनमा हालसम्म (करिब १२ वर्ष) धेरै परीक्षामा सहभागी भएको र आगामी दिनमा थुप्रै कठिन परीक्षा दिनुपर्ने कुरा बोध गराउन जरूरी छ । उनीहरूलाई तनाव मुक्त गराएर परीक्षा हाउगुजी होइन, बरु सिकाइको मूल्यांकन हो भन्ने कुरा स्पष्ट बनाउन सकेमा उनीहरूले सफलता प्राप्त गर्न सक्छन् । यस अवस्थामा शिक्षक, अभिभावक र बालबालिकाहरूले के–कस्ता कुराहरूमा ध्यान दिने भन्ने कुरा यहाँ आग्रह गरेको छु ।

बालबालिकाले ध्यान दिनुपर्ने कुरा

  • परीक्षालाई सामान्य रूपमा लिने वा परीक्षासँग नडराउने, परीक्षाबारे अनावश्यक तनाव नलिने ।
  • पर्याप्त पानी पिउने तथा विभिन्न मौसमी फलफूल खाने ।
  • आलस्यता र कब्जियतबाट बच्न जंकफुडबाट टाढा रहने ।
  • पढ्दै गर्दा समय–समयमा ब्रेक लिने । शरीरलाई सक्रिय र गतिशील बनाउने तथा गीत सुन्ने ।
  • सम्भव भएसम्म साथीसँग बसेर पढ्ने तथा पढेको कुरा शेयर गर्ने ।
  • परीक्षा तयारी गर्दा सकेसम्म लेखेर, सूची तयार पारेर वा चित्र (डायग्राम) बनाएर पढ्ने ।
  • परीक्षाका लागि आवश्यक पर्ने शैक्षिक सामग्री (कलम, ज्यामिति बक्स, स्केल लगायत)को उचित व्यवस्थापन गर्ने ।
  • परीक्षा सुरू हुनुभन्दा अघिल्लो दिन अभिभावक वा साथीसँग परीक्षा केन्द्र जाने तथा उक्त केन्द्र कहाँ छ र आफ्नो बासस्थानबाट कति समय लाग्छ भनी जानकारी लिने ।
  • पहिलो दिन आधा घण्टा अगाडि र अरू दिन कम्तीमा १५ मिनेट अगाडि परीक्षा केन्द्रमा पुग्ने ।
  • कहिलेकाहीं घरबाट परीक्षा केन्द्र जाँदै गर्दा प्रवेशपत्र बिर्सिएर घर फर्कंदा हतार र तनावमा दुर्घटना हुनसक्ने वा मानसिक दबाब हुने भएकोले परीक्षा केन्द्रमा पुगेर अभिभावक वा विद्यालयका प्रधानाध्यापकलाई सम्पर्क गर्ने ।
  • परीक्षा हलमा मुस्कानसहित निरीक्षकलाई नमस्कार वा कुनै अभिवादसहित प्रवेश गर्ने ।
  • उत्तरपुस्तिकामा सिम्बोल नम्बर (अंक र अक्षरमा), मिति, विषय, परीक्षा केन्द्र लगायत आवश्यक विवरण स्पष्टसँग लेख्ने ।
  • प्रश्नपत्र राम्रोसँग पढ्ने र सुरूमा आफूलाई सजिलो लाग्ने प्रश्नको उत्तर लेख्ने ।
  • परीक्षा हलमा परीक्षार्थी साथीहरूलाई अनावश्यक हैरानी नगर्ने ।
  • मर्यादित र शालीन ढंगले परीक्षामा सहभागी हुने ।
  • नबुझेका प्रश्नहरू निर्धक्कसँग निरीक्षकसँग सोध्ने ।
  • सकेसम्म सबै प्रश्नको उत्तर लेख्न कोशिश गर्ने अर्थात् कुनै पनि प्रश्न नछोड्ने ।
  • उत्तर लेख्ने क्रममा कुनै प्रश्नको उत्तर अस्पष्ट भएमा विषय शिक्षकले कक्षामा पढाउँदै गरेको सम्झने र उत्तर लेख्ने कोसिस गर्ने ।
  • प्रश्नपत्रमा उल्लिखित निर्देशन पूर्ण रूपमा पालना गर्ने ।

अभिभावकले ध्यान दिनुपर्ने कुरा

  • बालबालिकाहरूको व्यक्तिगत स्वास्थ्यमा विशेष ध्यान दिने ।
  • पौष्टिक आहार वा भोजनको प्रबन्ध गर्ने ।
  • बेलाबेलामा उनीहरूको सिकाइमा सहयोग हुने गरी छलफल र अन्तरक्रिया गर्ने ।
  • सकारात्मक कुरा भनेर पढाइमा प्रेरित गर्ने ।
  • तिमीले पहिलाभन्दा मिहिनेत गरेका छौ है भनेर पढाइमा उत्प्रेरित गर्ने ।
  • समयमा उठ्न र पढ्नका लागि प्रेरित गर्ने तथा सहयोग गर्ने ।
  • बालबालिकालाई आवश्यक पर्ने शैक्षिक सामग्रीको उचित व्यवस्थापन गरिदिने ।
  • अन्य समयमा भन्दा बढी सद्भाव, माया र हेरविचार पुर्याउने ।
  • बालबालिकाको लागि अन्य समयमा भन्दा बढी वा आवश्यक समय दिने । ।
  • पढाइमा व्यस्त हुँदा उनीहरूको अगाडि आफू मोबाइल तथा टेलिभिजनमा व्यस्त नहुने ।

विद्यालय प्रशासन तथा शिक्षकहरूले ध्यान दिनुपर्ने कुरा

  • बालबालिकालाई ‘अत्यन्त कमजोर छौ, सक्दैनौ वा सम्भव नै छैन’ जस्ता शब्दावली प्रयोग गरी निरुत्साहित नगर्ने ।
  • बालबालिकालाई सकारात्मक तरिकाले पढाइमा प्रेरित गर्ने ।
  • उनीहरूका लागि आवश्यक सूचना स्पष्टसँग दिने ।
  • कतिपय अभिभावकले समयमा शुल्क नतिरेका कारण विद्यालयमा प्रशासन वा शिक्षकले बालबालिकाहरूलाई अनावश्यक दबाब दिने गरेको समेत सुनिन्छ । त्यस्तो व्यवहार नगरी अभिभावकसँग समन्वय गर्ने ।
  • सकारात्मक सोचका साथ उनीहरूको सिकाइमा प्रेरित गर्ने ।
  • परीक्षार्थीहरूको प्रवेशपत्रको एक प्रति फोटोकपी विद्यालयमा राख्ने र एक प्रति विद्यार्थीलाई राख्न लगाउने ।
  • परीक्षाको दिन कम्तीमा आधा घण्टा अगाडि परीक्षा केन्द्र पुग्ने र परीक्षार्थी बालबालिकालाई भेटेर हौसला दिने ।

माथि उल्लिखित कुराहरूमा विद्यालय प्रशासन तथा शिक्षक, अभिभावक र बालबालिकाले ध्यान पु¥याउन वा आ–आफ्नो भूमिका र दायित्व पूरा गर्न जरूरी छ । यति गर्न सकियो भने स्पष्ट छ कि पक्का पनि बालबालिकाले राम्रो नतिजा प्राप्त गर्नेछन् । सकेसम्म परीक्षामा राम्रो गरेर उत्कृष्ट ग्रेड ल्याउने कोशिश गरौं । तर एसइई वा अन्य परीक्षाको नतिजा ‘ए’ आएको, ‘ए प्लस’ नआउँदैमा जिन्दगी बर्बाद हुन्छ भन्ने कुराबाट सबै पक्ष मुक्त बनौं ।

प्रकाशित मिति : १४ चैत्र २०८०, बुधबार ०७:३४