सूचनाको शक्ति - The Power Of Information

        

एमाले नेता भानुभक्त मुछिएको ओम्नी भ्रष्टाचार काण्डको फाइल खुल्ला ?

नेपालमा विभिन्न काण्डहरु चर्चामा छन् । सुन काण्ड, नक्कली भुटानी शरणार्थी काण्ड, बालुवाटार जग्गा काण्ड यावत काण्डहरु । देशकै स्वाभिमानमा आँच पुर्याउनेदेखि नागरिकको सवालसँग जोडिएको काण्ड घटे पनि राज्यका निकायहरु निकम्मा हुँदा काण्डहरु चर्चामा रहन्छन् तर त्यसको छानबिन हुन्न र छानबिन भए नि फितलो रहने गरेको छ ।

त्यस्तै मध्येको एक काण्ड हो कोरोना महामारीमा स्वास्थ्य सामग्री खरिदमा अनियमिता गरिएको ओम्नी काण्ड । तत्कालिन स्वास्थ्यमन्त्री एवं एमाले नेता भानुभक्त ढकाल मन्त्री रहेका बेला विश्व कोरोना महामारीमा तस्त्र थियो । सोही समयमा विदेशबाट स्वास्थ्य सामग्री खरिद गरिँदा ठूलो भ्रष्टाचार भए पनि हालसम्म त्यसको छानबिन हुन सकेको छैन ।

तत्कालिन समयमा संसदको सार्वजनिक लेखा समितिले तत्कालीन स्वास्थ्यमन्त्री ढकालको संलग्नतामा ओम्नी समूहमार्फत स्वास्थ्य सामग्री आपूर्ति गर्दा अनियमितता भएकाले छानबिन अघि बढाउन अख्तियारलाई ताकेता गरेको थियो । तर आयोगले पनि स्वास्थ्य सामग्री खरिदमा भएको त्यति ठूलो अनियमितताको छानबिनमा कुनै चासो देखाएको छैन ।

२०७७ साल पुस ५ गते संसदको लेखा समितिले अख्तियारलाई अनुसन्धान अघि बढाउन आग्रह गरेको थियो । साथै २०७७ चैत दोस्रो साता अनुसन्धान अघि बढाउन औपचारिक रूपमा पत्र नै पठाएको थियो । अख्तियारले सो प्रकरणमा अनुसन्धान भइरहेको भन्दै टार्ने गरेको थियो । एमाले निकट मानिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राई प्रमुख आयोगको नेतृत्वमा रहँदासम्म एमाले निकट व्यक्तिहरु मुछिएका काण्डहरुको फाइल नखुल्ने भन्दै आलोचना भइरहेको छ ।

लेखा समितिले नै स्वास्थ्य सामग्री खरिद प्रक्रिया नियमसंगत नभएको भन्दै अनुसन्धान गरी दोषीलाई कारबाही गर्न ताकेता गरेको ३ वर्ष बितिसक्दा पनि अख्तियारले कुनै चासो नदेखाउनु गम्भीर विषय बनेको छ । बितेको एक वर्षमा विभिन्न काण्डका फाइलहरु अघि बढेसँगै स्वास्थ्य सामग्रीमा भएको भ्रष्टाचारको फाइल खुल्छ की भन्ने सबैको अपेक्षा रहेको थियो । तर काण्डहरुमा राजनीतिक दाउपेचका कारण यी विषयहरु ओझेलमा परिरहेका हुन् ।

सधैँ भाषणमा भ्रष्टाचार विरोधका कुरा गरिरहेका वर्तमान उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अहिले ती फाइल खोल्न आँट गर्लान् की भन्ने आशा धेरैको छ । तर आफैँ सहकारी विवादमा रहेका लामिछानेले अन्य फाइल खोल्दा आफैँमाथि पनि राजनीतिक संकट आइपर्ने भएकाले त्यसमा अघि बढ्न नसक्ने विश्लेषकहरुको बुझाइ रहेको छ ।

पहिलो पटक एमाले अध्यक्ष केपी शर्मा ओलीकै सक्रियतामा गृहमन्त्री बनेका थिए लामिछाने । दोस्रो कार्यकालमा अहिले गृहमन्त्री बनेपछि एमाले निकटहरुको फाइल खुल्ने डरले ओली सरकारी विवादबारे रविको बचाउ गर्दै आइरहेका छन् । जसको कारण राजनीतिक सौदामा ओम्नी काण्ड पर्ने बताइन्छन् ।

के हो ओम्नी भ्रष्टाचार काण्ड ?

२०७६ चैतमा कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामग्री आपूर्तिका लागि सरकार र ओम्नी समूहबीच एक अर्ब २४ करोड बराबरका स्वास्थ्य सामग्री ल्याउने सम्झौता भएको थियो । ओम्नीले ठेक्का अनुसार सामग्री समेत ल्याएको थिएन भने आयात गरेका सामग्रीसमेत गुणस्तरहीन थियो ।

ओम्नीका सामग्री गुणस्तरहीन प्रमाणित भएको थियो भने मन्त्रालयको दरभाउभन्दा २० प्रतिशत महँगो पाइएको थियो । यो प्रकरणमा कारबाहीको माग गर्दै तत्कालीन स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलविरुद्ध छुट्टाछुट्टै मुद्दा दर्ता भएका थिए । संसदको सार्वजनिक लेखा समितिले ओम्नी काण्डमा मुछिएका पदाधिकारीलाई कारबाहीका लागि सिफारिस गरेको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १७:५६

लोकप्रिय