सूचनाको शक्ति - The Power Of Information

        

संचालनमा आयो नेपालगन्जको पौडी पोखरी

 गर्मी मौसम सुरु हुने बित्तिकै नेपालगन्ज लगायत तराईका जिल्लाहरुको जनजीवन प्रभावित हुने गर्दछ । नेपालगन्जमा गर्मी बढ्न सुरु भएसँगै सरकारी स्तरबाट निर्माण गरिएको पौडी पोखरी संचालनमा आएको छ ।

नेपालगन्ज रङ्गशालामा रहेको पौडी पोखरी संचालनमा आएपछि दैनिक पौडी खेल्न आउनेको संख्या बढ्दै गएको छ । अहिले दैनिक रुपमा ५० भन्दा बढी सर्वसाधरण पौडी खेल्न आउने गरेको बताउनुहुन्छ साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्ज प्रमुख महेश चन्द । चैत १ देखि संचालनमा आएपछि क्रमश: पौडी खेल्न आउनेको संख्या बढिरहेको उहाँले जानकारी गराउनुभयो ।

पछिल्लो समय नेपालगन्जमा पौडी पोखरीमा आएर खेल्नेहरुको संख्या बढ्दै गएको चन्दले बताउनुभयो । नेपालगन्ज रंगशालामा भएको पौडी पोखरी स्तरीय भएकोले सर्वसाधारणको रोजाईमा पर्ने गरेको चन्दको  भनाई छ । उहाँले भन्नुभयो, ‘‘नेपालगन्ज रङ्गशालाको पौडी पोखरी अन्तर्राष्ट्रिय मापदण्ड अनुसार निर्माण गरिएको हो । यहाँ सर्वसाधरण र खेलाडीहरुले अभ्यास गर्न सहज छ । त्यसैले पनि धेरै रोजाईमा रङ्गशालाको पौडी पोखरी परेको हो ।’’

राष्ट्रिय स्तरको प्रतियोगिता गर्ने उद्देश्यले राष्ट्रिय खेलकुद परिषद (राखेप)ले २०५६ सालदेखि नेपालगन्जमा पौडी पोखरीको निर्माण कार्य सुरु गरेको थियो । तर, पौडी पोखरी भने नेपालगन्जमा २०७६ सालमा भएको आठौँ राष्ट्रिय खेलकुद पश्चात निर्माण कार्य सम्पन्न भएको थियो । साविक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेश नेपालगन्जले हाल पौडी पोखरीको व्यवस्थापनको कार्य गरिरहेको छ ।

पौडी पोखरीको व्यवस्थापनमा खटिएका कर्मचारी र व्यवस्थापन खर्चलाई धान्न सक्ने गरी शुल्क निर्धारण गरिएको कार्यालय प्रमुख चन्दले बताउनुभयो । उहाँले भन्नु भयो, ‘‘हरेक सिजनमा पौडी पोखरी व्यवस्थापनमा लाखौं रुपैयाँ खर्च हुन्छ । व्यवस्थापनलाई सहयोग होस भनेर हामीले थोरै शुल्क राखेका छौं । यसले पौडी पोखरी संचालनमा सहयोग पुग्नेछ ।’’

कार्यालय प्रमुख चन्दका अनुसार सर्वसाधारणहरुको लागि प्रतिव्यक्ति दुई सय र विद्यार्थीहरुको लागि एक सय रुपियाँ शुल्क निर्धारण गरिएको छ । राष्ट्रिय खेलाडीहरुको लागि एक सय र अन्तर्राष्ट्रिय खेलाडीको लागि नि:शुल्क  व्यवस्था गरिएको पनि चन्दले बताउनुभयो ।

पौडी पोखरीको व्यवस्थापनमा नियमित रुपमा तीन जना कर्मचारीले काम गरिरहेका छन् । पौडी पोखरीमा सङ्घ र क्लबहरुले प्रतियोगिता आयोजना गरे सहुलियत दरमा उपलब्ध गराउने चन्दले बताउनुभयो ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १७:०३

लोकप्रिय