सूचनाको शक्ति - The Power Of Information

        

मैत्रीपूर्ण टी–२० शृङ्खला

दोस्रो टी-२० क्रिकेटमा पनि आयरल्याण्ड ए माथि नेपाल विजयी

कामी र मल्लले तीन-तीन विकेट लिए

आयरल्याण्ड उल्भ्ससँगको मैत्रीपूर्ण टी–२० क्रिकेट शृङ्खला नेपालले जितेको छ । आज भएको दोस्रो मैत्रीपूर्ण खेलमा आयरल्याण्ड उल्भ्सलाई ७१ रनले हराएसँगै दुई खेलको शृङ्खला नेपालले जितेको हो । त्रिबि क्रिकेट मैदानमा नेपालले दिएको १९८ रनको लक्ष्य आयरल्याण्ड उल्भ्सले १८ दशमलब तीन ओभरमा १२७ रन मात्र बनाउन सक्यो ।

उसका लागि स्टेफेन डोनीले २६ र मोर्गन टपीङले २१ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र कुशल मल्लले सामान तीन विकेट लिए । यस्तै करन केसी, कुशल भुर्तेल र विवेक यादवले समान एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा सात विकेट गुमाएर १९८ रन बनाएको थियो ।

नेपालका गुल्शन झाले ४६, कुशल मल्लले ३४, रोहित पौडेलले ३३, सन्दीप जोराले २१ र कुशल भुर्तेलले २५ रन बनाए । आयरल्याण्ड उल्भ्सका म्याथु फोस्टरले तीन विकेट लिए । हिजो भएको पहिलो खेलमा नेपालले आयरल्यान्ड उल्भ्सलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १६:५६