सूचनाको शक्ति - The Power Of Information

        

श्री एयरलाइन्सले थप्यो दुई जहाज

निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज थपेको छ । कम्पनीले ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं अवतरण गराएको हो । नाइनएन–एओके र नाइनएन–एओएल जहाज क्यानडामा निर्माण भएको कम्पनीले जनाएको छ ।

यी जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो । श्री एयरलाइन्सका पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हुदै जहाजहरु काठमाडौं ल्याइएको हो ।

अमेरिकाबाट २५ घण्टाको उडानपछि यी जहाज काठमाडौं ल्याइएको कम्पनीले जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रक्रिया पुरा गरी यी विमान श्री एयरलाइन्सले आफ्ना आन्तरिक उडानमा लगाउने भएको छ ।

श्रीले सन् २०१७ देखि ५० सिट क्षमताको २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन थालेको हो । सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगन्ज, धनगढीसहितका विमानस्थलमा उडान थालेको कम्पनीले त्यसयता जहाज थप्दै गन्तव्य विस्तार गरिरहेको छ ।

सन् २०१९ देखि दुई वटा र सन् २०२२ मा थप दुई गरि चार वटा ८० सिट क्षमताका जहाज ल्याएको कम्पनीले अहिले पोखरा, सुर्खेत, जनकपुर तथा सिमरामा समेत सेवा विस्तार गरिसकेको श्री एयरलाइन्सले जनाएको छ ।

प्रकाशित मिति : १३ चैत्र २०८०, मंगलवार १४:०१

लोकप्रिय