सूचनाको शक्ति - The Power Of Information

        

अत्तालिँदै शक्ति केन्द्रका पुजारी अर्थ सचिव कृष्णहरि

शक्ति केन्द्र पुजारी भनेर चिनिँदै आएका अर्थ सचिव कृष्णहरि पुष्कर अहिले चर्चामा छन् । बेलायत भ्रमणकै बेलामा अर्थ सचिवमा आफूलाई सरुवा गराउन सफल पुष्करको तत्कालीन सत्ताधारी दल कांग्रेससँगको निकटता प्रष्ट देखिएपछि अहिले चेपुवामा परेका छन् ।

अनियमित ढङ्गले करको दर हेरफेर प्रकरणमा बाहिरिएका तत्कालीन अर्थसचिव मधुकुमार मरासिनी मन्त्रालयबाट बाहिरिएपछि पुष्करले बाजी मारेका थिए । नेपाली कांग्रेस र माओवादीका शीर्ष नेताहरूसँग राम्रो सम्बन्ध बनाएका पुष्करले अर्थ सचिवमा जान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई रिझाएका थिए ।

तर, अहिले वर्षमान पुनले उनलाई हटाउन खोजिरहेका छन् । मन्त्रालयका सबै सूचना शेरबहादुर देउवा र उनी निकटका व्यापारीलाई दिने भएपछि चेपुवामा परेको मन्त्रालय स्रोतले जनाएको छ । अघिल्लो सरुवामा अर्थ मन्त्रालयको प्राविधिक पक्षबारे कत्ति पनि ज्ञान नहुँदै पुष्कर राजस्वसचिव बनेका थिए । मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘शक्तिकेन्द्र रिझाएर फेरि अर्थ सचिवमै आएका थिए ।

२०७८ असार २४ मा सचिवमा बढुवा भएका उनी डेढ महिनामै अर्थ मन्त्रालयमा सरुवा भएका थिए । सुरुमा प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा रहेका उनी शक्तिकेन्द्रकै आडमा अर्थ मन्त्रालयमा पुगेका थिए । सचिव हुनुअघि उनको अर्थ मन्त्रालय र मातहतको कुनै पनि जिम्मेवारीमा रहेर काम गरेको अनुभवसमेत थिएन ।

त्यतिबेला सुरुमा उनी तत्कालीन गृह सचिव महेश्वर न्यौपानेलाई सरुवा गराएर गृहमा जाने सोचमा थिए । तर, न्यौपानेको सरुवा नहुने छाँटकाट नदेखेपछि उनी अर्थमै पुगे । त्यतिबेला राजश्वसचिव बनेका उनले आफूभन्दा वरिष्ठ सचिवहरूलाई समेत पाखा लगाउन सफल भए । सरकारले त्यतिबेला सचिवमा बढुवा गर्दा पनि संघ र प्रदेशमा गएर काम गरेको अनुभव खोजेन ।

तत्कालीन श्रम तथा यातायात राज्यमन्त्री टेकबहादुर गुरुङको कार्यकालमा वैदेशिक रोजगार विभागको महानिर्देशक बने । तर, त्यहाँ धेरै टिक्न सकेनन् । म्यानपावर कम्पनीहरूसँग अवैध असुली गर्न खोजेको आरोप लगाउँदै राज्यमन्त्री गुरुङले उनलाई विभागको जिम्मेवारीबाट हटाए । त्यसपछि उनी गृह मन्त्रालय छिरे । गृहमा बस्दा सिडियो भई मकवानपुरमा रहँदा भन्सार जाँचपास भएर आएका सामानको प्रज्ञापन पत्र मागेर गाडी रोकेको भन्दै उनको सरुवा भयो ।

२०६९ भदौमा पुष्करले महँगी नियन्त्रण गर्न न्यून बिजकीकरण रोक्नु आवश्यक रहेको भन्दै ‘अपरेसन ब्ल्याक’ अभियान चलाएका थिए । यो प्रकरणले वीरगन्ज र सुख्खा बन्दरगाह भन्सारमा खैलाबैला मच्चियो । मकवानपुर जिल्लाका रातमाटे, मनहरी र लोथरमा ’चेकप्वाइन्ट’ बनाई ट्रक रोकेर सामान र कागजपत्र परीक्षण गर्न थालेपछि व्यापारीहरु अर्थ मन्त्रालयमा डेलिगेसनका लागि पुगे । उनको सरुवा भयो । त्यसपछि उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पुगे ।

तत्कालीन प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विश्वासपात्र बनेर पुष्करले देखाएको कार्यशैलीको सार्वजनिक रूपमै आलोचना भयो । उनले सिधै सरकारी कार्यालयका हाकिमहरूलाई फोन गरेर थर्काउँथे । अहिले उनको सारथिको रुपमा रहेका सहसचिव टोकराज पाण्डे पनि आफूलाई कालो कांग्रेसी भएको बताउथे । पुनले मन्त्रालय सम्हालेपछि मरिच चाउरिएझै चाउरिएर उनी गृहमन्त्रालयको चोटातिर धाउन थालेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८०, सोमबार १२:१९

लोकप्रिय