स्वास्थ्य कार्यालय बाँकेको आयोजना तथा नेपालगन्ज उपमहानगरपालिका एवं अन्य संस्थाको समन्वयमा आइतबार नेपालगन्जमा विभिन्न कार्यक्रम गरेर क्षयरोग दिवस मनाइएको छ ।
जिल्लामा क्षयरोगीका सङ्ख्या उल्लेख्य रूपमा बढ्दै गएको पाइएको जनाउँदै त्यसबारे गम्भीर चिन्ता प्रकट गरिएको छ । स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले पछिल्लो समय बाँकेमा क्षयरोगीको सङ्ख्या बढ्दै गएको पाइएकाले चिन्ता थपिएको बताउनुभयो ।
उहाँले चालु आर्थिक वर्षको सात महिनामा मात्र बाँकेमा ५३९ जना नयाँ क्षयरोगी भेटिएको जनाउँदै यो सङ्ख्याले निकै चिन्तित बनाएको बताउनुभयो । स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रवीन्द्रकुमार साहका अनुसार सात महिनामा भेटिएका ५३९ क्षयरोगीमध्ये सबैभन्दा बढी १६३ जना नेपालगन्जमा छन् । सबैभन्दा कम नरैनापुरमा २६ जना भेटिएका छन् ।
उहाँका अनुसार चालु आवमा क्षयरोग पुष्टि भएकामध्ये छ जनामा एचआइभी पोजेटिभ रहेको पाइएको र अघिल्लो आव २०७९/८० मा बाँकेमा एक हजार १०२ जना क्षयरोगी भेटिएकामा नेपालगन्जमा सबैभन्दा बढी ३३५ र नरैनापुरमा सबैभन्दा कम ७१ क्षयरोगी पत्ता लागेको थियो ।
स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “क्षयरोगबारे बढीभन्दा बढी सर्वसाधारणलाई सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुने छ । क्षयरोगको पहिचान, उपचार र निदानका लागि परीक्षण बढाउँदै लग्नुपर्ने हुन्छ ।”
नेपालमा पछिल्लो पटक ३७ हजार ४४७ जनामा क्षयरोग देखिएको छ । कुपोषण भएका, धूमपान तथा सुर्तीजन्य पदार्थको सेवन गर्ने, मधुमेहका बिरामी, मादक पदार्थ सेवन गर्ने, एचआइभी सङ्क्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिस क्षयरोगको उच्च जोखिममा पर्ने चिकित्सकको भनाइ छ ।
तौल कम हुनु, खानामा रुचि कम हुनु, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्नु, राति ज्वरो आउनु क्षयरोगका प्रमुख लक्षण हुन् । क्षयरोगमध्ये सबैभन्दा बढी ८५ प्रतिशत क्षयरोग फोक्सोको हुने गरेको छ ।
लगातार दुई हप्ताभन्दा बढी समयसम्म खोकी लाग्ने, खानामा अरुचि हुने, दुब्लाउँदै जाने र कमजोर हुने लक्षण क्षयरोगको हुन सक्ने चिकित्सकको भनाइ छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । बाँके