सूचनाको शक्ति - The Power Of Information

        

हैदराबादविरुद्ध कोलकाताको रोमाञ्चक जित

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्स (केकेआर)ले सनराइजर्स हैदराबादविरुद्ध चार रनको रोमाञ्चक जित निकालेको छ ।

शनिबार राति इडेन गार्डेनमा सम्पन्न खेलमा कोलाकाताले अन्तिम ओभरमा १३ रन रक्षा गरेपछि चार रनको रोमाञ्चक जितसहित विजयी सुरुआत गरेको हो । कोलकाताले प्रस्तुत गरेको २०९ रनको लक्ष्य पछ्याउने क्रममा हैदराबादले निर्धारित २० ओभरमा सात विकेट गुमाएर २०४ रनमात्र बनाउन सक्यो ।

हैदराबादका हेनरिक क्लासेनले आक्रामक ब्याटिङ गर्दै २९ बलमा आठ छक्कासहित ६३ रन बनाए पनि टिमको हार टार्न सकेनन् । मयंक अग्रवाल र अभिषेक शर्माले समान ३२ रन जोड्दा राहुल त्रिपाठीले २०, आइदेन मार्करमले १८, सहबाज अहमेदले १६ र अब्दुल समादले १५ रन थपे ।

कोलकाताका हर्षित रानाले तीन विकेट लिए । चार ओभर बलिङ गरेका हर्षितले ३३ रन खर्चिए । आन्द्रे रसेलले दुई विकेट लिँदा वरुण चक्रवर्ति र सुनिल नारिनले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको कोलकाताले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर २०८ रनको योगफल खडा गरेको थियो । कोलकाताबाट आक्रामक ब्याटिङ गरेका आन्द्रे रसेलले २५ बलमा तीन चौका र सात छक्कासहित ६४ रन बनाए । ११९–६ को अवस्थाबाट उनले रिंकु सिंहसँग ८१ रनको साझेदारी गर्दै कोलकातालाई बलियो योगफलसम्म डोहोर्याएका थिए । रिंकले २३ रन थपे ।

ओपनर फिल साल्टले ४० बलमा तीन चौका र तीन छक्कासहित ५४ रन बनाए । ५१–४ को कठिन अवस्थाबाट साल्टले रमनदीप सिंहसँग ५४ रनको साझेदारी गर्दै कोलकाताको मध्यक्रम सम्हालेका थिए । रमनदीपले ३५ रन जोडे ।

हैदराबादका टी नटराजने तीन विकेट लिए । मयंक मार्कन्डेले दुई विकेट लिँदा कप्तान प्याट कुमिन्सले एक विकेट हात पारे ।

प्रतियोगिताको १७औँ संस्करण जितसहित सुरुआत गरेको कोलकाता दुई अंकसहित तालिकाको तेस्रो स्थानमा छ । अंकविहीन हैदराबाद भने तालिकाको चौथो स्थानमा छ ।

शनिबार नै भएको पहिलो खेलमा पञ्जाव किंग्सले दिल्ली क्यापिटल्सविरुद्ध चार विकेटको जित निकाल्दै प्रतियोगितामा विजयी सुरुआत गरेको थियो ।

प्रतियोगितामा आज दुई खेल हुँदैछन् । आजको पहिलो खेलमा राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच प्रतिस्पर्धा हुँदैछ । यस्तै, दोस्रो खेलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्स भिड्दैछन् ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आइतवार ०८:२३

लोकप्रिय