सूचनाको शक्ति - The Power Of Information

        

रुस-युक्रेन युद्धबाट नेपालीको पत्र : मान्छे भुस्याहा कुकुरजस्तै मरेका छन्, हामी फर्कन चाहन्छौँ

सन् २०२२ को फेब्रुअरीमा रुस–युक्रेनबिचको युद्ध सुरु भयो । युद्धसँग नेपालको चासो र चिन्ता त थियो । तर, प्रत्यक्ष साइनो केही थिएन । युद्ध लम्बिँदै गर्दा मानव तस्करको सञ्जालमार्फत नेपाली युवा रुसी सेनामा भर्ती हुन थाले । नेपाली युवा रुसी सेनामा भर्ना भएर उक्त युद्धमा होमिएका मात्र छैनन्, हालसम्म ३० जना बढीले ज्यान गुमाइसकेका छन् । १०० भन्दा बढी बेपत्ता छन् ।

कैयौँ घाइते छन् । जसको यकिन संख्या आएको छैन । अहिले रुसी सेनामा १५ सय नेपाली भएको बताइन्छ । रुसी सेनामा कार्यरत नेपालीका परिवारले आफन्त स्वदेश फिर्ताका लागि प्रयास गर्न, बेपत्ताको खोजी गर्न माग गर्दै संगठित अभियान गरिरहेका छन् । अभियानको अगुवाइ गरिरहेकी नेकपा एकीकृत समाजवादीकी नेतृ कृतु भण्डारीलाई रुस–युक्रेन युद्ध मैदानबाट जुन आर.मगरले लेखेको पत्र :

रुस र युक्रेनको युद्धमा फसेका नेपालीलाई फर्काउन प्रयासरत कृतु भन्डारी ज्यू लगायत अभियानमा खटिनुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी र शुभचिन्तकहरूमा लडाइँको मैदानबाट जय नेपाल ।

युक्रेनमा लडाई भइरहेको भेसेले र राजडोल्भीकास्थित ठाउँ ठाउँका बङ्कर र भत्केको घरमा हामी ३१ जना नेपाली छौँ । हाल यहाँ एक दुई जना सामान्य घाइते भए पनि अन्य सकुशल छौँ । गरिबिका कारण घर व्यवहार चलाउन धौ–धौ भएपछि दलाली मार्फत छिट्टै धनी बन्ने सोचले हामी रुसी सेनामा भर्ती भयौँ । हाम्रो रिसिइबी न रुससँग छ । न त युक्रेन कसैसँग नै । हामी त यहाँ पैसा कमाउनको लागि मात्रै आएका हौँ । तर, कहाली लाग्दो भुमरीमा फस्यौँ ।

मानवता नहुनेहरूले ठिक्क पर्यो भन्लान् । तर, हाम्रो लागि आवाज उठाउने कोही छ भन्ने सुनेपछि केही आसा जागेको छ । अब बाच्छौँ कि भन्ने लागेको छ । परिवारसँग फेरि भेट हुने आशाले मन पुलकित भएको छ । यहाँ सबै नेपाली उद्धारको पर्खाइमा छन् । देशमै रोजगारी पाएको भए यसरी ज्यान नै धरापमा राखेर रुसी सेनामा भर्ती हुनुपर्ने थिएन । केही साथीहरूमा युद्ध सम्बन्धी जानकारी छ । तर, अधिकांश गाउँघर, पाखा पखेरामा खेल्दाखेल्दै यहाँ आइपुगेका छन् ।

धेरै साथीहरूले मानव तस्करले यहाँ ल्याएको सुनाउने गरेका छन् । दलालहरूले विभिन्न प्रलोभनमा अझै नेपालीलाई फसाउन छाडेका छैनन् । यहाँ ल्याइरहेका छन् । दलालले एक जना ल्याउँदा १५ सयदेखि २५ सय डलरसम्म पाउने रहेछ । मेरो अनुरोध, यो काल कोठरीमा आउनबाट रोक्न नेपाल सरकारले ध्यान पुर्याओस् । रुसी सेनामा भर्ती हुन सामान्य मेडिकल चेकअप मात्रै हुन्छ । अरू, मापदण्ड केही चाहिँदैन । यहाँ ५२ वर्षसम्मको नेपाली भेटेको छु ।

जो पायो त्यहीलाई ल्याउँदा युद्धमा बढी मृत्यु हुने गरेका छन् । १० दिनको तालिम दिएर युद्धमा खटाइन्छ । भाषा, चिसो मौसम र भूगोलले पनि यहाँ धेरै समस्या हुने गरेको छ । दुई–चार महिना भाषा सिकोस् भनेर रुसी सेनासँगै राख्छन् । त्यसबेला नेपालीहरूले ‘आइ एम रसियन आर्मी’ भनेर सान दिन्छन् । युद्ध कस्तो छ भन्ने भोग्नेलाई मात्रै थाहा छ । अरूलाई यस्तो कहालीलाग्दो युद्धमा नफस्न आग्रह छ ।

गाउँमै केही गर्नुहोस् । बरु अरू देश जानुहोस् । जानाजान मृत्यु नरोज्नुहोस् । नेपाल सरकारसँग एउटै मात्र आग्रह, हाम्रो उद्धार तत्काल गरियोस् । हामी बाच्न चाहन्छौँ । जिन्दगीको भिख मागिरहेका छौँ । आँखै अगाडी धेरै नेपालको मृत्यु भएको छ । युक्रेनीले बिछाएको बम, ड्रोन, आर्टिलरी प्रहारबाट ज्यान टुक्रा टुक्रा भएको छ । कसैको आन्द्रा भुँडी निस्किएको छ । भुस्याहा कुकुर मरेजस्तै मरेका छन् । त्यही खाल्डो खनेर गाडिदिन्छौँ । न खाना छ । न त पानी नै ।

खाना एक ठाउँमा थुपार्छ । त्यो पनि दुस्मनको बमले तितरबितर बनाइदिन्छ । माटोमा लतपत भएको खाना टिपेर खानुपर्छ । भोकै प्यासै लडेको तलब पनि पाइँदैन । फ्रीमा रुसको लागि लडिरहेका छौँ । यहाँ मैले जे भोगे जे देखे त्यही लेख्दैछु । भेसेले पहिलो दिन । ११–०३–२०२४ तारिख । मोटरसाइकलको पछाडि सामान ओसारपसारको लागि टिप्पर जोडेको हुन्छ । त्यसैमा दुई रुसीसँगै क्युबाको एक जना र म लडाइँ लडिरहेका टोलीलाई खानेकुरा लिएर पुग्यौँ ।

त्यसबेल अवस्था सामन्य थियो । दुस्मन ३–४ किलोमिटर पछाडि हटेको थियो । तर, बमवारि चलिरहेकै थियो । त्यहाँ बसेको एक साता भएको थियो । सुत्ने तरखर गर्दै थियौँ । वस्तृए विस्तृए (छिटो छिटो) भन्दै एउटा रुसी सेना आयो । एक जना रुसी सेनासँग मलाई अगाडी पठाइयो । करिब १५ सय मिटर परदेखि एक रसीनयको लास लडाइँको मैदानबाट उठायौँ । हतियार पनि बोकेका थियौँ । हतियारसँग कुद्न गाह्रो । त्यसमाथि दुई जनाले एकजनाको लास बोक्नुप¥यो । चिसो उस्तै । हात खुट्टा जाम भएर दौडिन सकेनौँ ।

उता (युक्रेनी पक्ष)बाट बम र गोलीको वर्षा भइरहेको थियो । हामीलाई रुसी ड्रोनले गाइड गरिरहेको थियो । यता जा उता जा भन्दै ओकेटोके सेटमा कराइरहेको थियो । अरूको लास राखेको बङ्करमा हामीले त्यो लासलाई राख्यौँ । र, बसेको घरमा आयौँ । त्यहाँ अरू दुई जना थपिसकेका रहेछन् । रिमरिम उज्यालो भएको थियो । मैले ‘जय होस् सबै’ भनेपछि एकजनाले ‘ढोग गरे दाइ’ भने । यसो हेरेको त सन्त भाइ पो रहेछन् । सन्तसँग दुई महिना पहिले छुटिएका थियौँ । भाइको अनुहार न्याउरो थियो । झ्याप्पै दारी थियो । झट्ट हेर्दा त चिन्नै नसक्ने ।

भाइले भने, ‘दाइ तपाईँलाई भेटेर मेरो सास आयो ।’ मैले सोधे, तिमीलाई कस्तो छ भाइ ? जवाफ आयो, ‘यस्तै छ दाइ । दुई हप्ता युद्ध मैदानमा बस्ने । तपाईँहरूले लास लिएर आउनुभयो । त्यो लास लाने हामी नै हौँ । घाइते भएका, मरेका यहाँसम्म तपाईँहरूले ल्याउनु हुन्छ । यहाँबाट लाने काम हाम्रो हो । त्यस दिन भाइको कमान्डर पनि त्यही बस्यो । भाइ र म अबेरसम्म दुःखका कुरा गर्दै बस्यौँ । रन्जु दाइलाई त्यही बाहिर गोली लागेको थियो । चार महिना भयो उहाँको केही खबर पाएका छैनौँ ।

यहाँ युद्धमा मर्यो भने पनि घुम्न आएको मान्छे मर्यो भन्छन् । कागजपत्र भेटियो भने नाम लेख्छन् । नत्र खाल्डो खनेर गाडिदिन्छन् । घरपरिवारसँग कुरा गर्न पाइँदैन । मोबाइल चलाउनु पनि दिँदैनन् । लुकिलुकी चलाउनुपर्छ । लास उठाउँदै दिन जान्छ । राति पनि लास उठाउन जानुपर्छ । राम्रोसँग सुत्न पाइँदैन । चनाखो हुनुपर्छ । नत्र शत्रु सिधै घाँटी काट्न आउँछ । बम हान्छ । दुस्मन गोली हान्दैभित्र घुस्छ । रातभर जागराम बस्नुपर्छ । सुते पनि पालैपालो सुत्नुपर्छ । बङ्करमा बसेको दुई महिना भयो । ननुहाएको कपडा चेन्ज नगरेको एक महिना १७ दिन भयो ।

यहाँको अवस्था कस्तो छ त्यो भन्न सकिँदैन । शब्दमा बयान गर्र्न सकिँदैन । यहाँको अवस्था देखेपछि दिमागले काम गर्न छाड्छ । मात्र यति लेख्छु, नेपाल सरकारले यो नर्कबाट निकाल्न तत्काल पहल गरोस् । दलालले फसायो । यही बङ्करमा बसेर कहानी सुनाउँदैछु, यहाँ हामी मृत्युसँगै बाचिरहेका छौँ । सबै नेपाली फर्कन चाहन्छन् । आफ्नो परिवारसँग भेट्न कुरा गर्र्न आतुर छन् । चाँडोभन्दा चाँडो उद्धार गरियोस् ।

 

 

जुन आर. मगर
हाल रुस र युक्रेनको युद्ध मैदानबाट !

प्रकाशित मिति : १० चैत्र २०८०, शनिबार १८:४०