सूचनाको शक्ति - The Power Of Information

        

सीआईबीलाई बयान दिएर अस्पताल फर्किए महरा

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीबार माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महराको बयान लिएको छ । महरा बयान दिन थापाथलीस्थित नर्भिक अस्पतालबाट लैनचौरस्थित सीआईबी कार्यालय पुगेका थिए ।

‘दिउँसो १ बजेतिर महरा सरको बयान सकेर अस्पताल फिर्ता गरेका छौं । महरा सरसँग हाम्रो तर्फको बयान सकियो । अब केही बाँकी भएर सरकारी वकिल कार्यालयले लिन्छ होला’, सीआईबीका एक अधिकारीले भने ।

पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको सुन तस्करी जाँचबुझ आयोगले मुद्दा चलाउनुपर्ने सिफारिस गरेपछि सीआईबीले महरालाई कपिलवस्तुबाट गत सोमबार पक्राउ गरिएको थियो । जिल्ला अदालतले महरालाई ४ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको थियो । उनी बिरामी भएकाले नर्भिक अस्पतालमा भर्ना भएका थिए ।

जाँचबुझ आयोगले सुन तस्करीमा जोडिएका चिनियाँ नागरिक दावाजिन वाङसँगको फोन सम्पर्क र अन्य परिस्थितिजन्य प्रमाण भेटिएको भन्दै महरामाथि कारबाही गर्न सफारिस गरेको थियो । १ चैतमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेलाई आयोगले बुझाएको ४८५ पृष्ठ लामो प्रतिवेदन अहिले सीआईबीले अध्ययन गरिरहेको छ ।

यसअघि आयोगले २५ माघमा सिंहदरबारस्थित कार्यालयमा बोलाएर महरासँग बयान लिएको थियो । उक्त बयानका क्रममा समेत महराले दाओजिन वाङसँग आफ्नो सम्पर्क रहेको समेत स्वीकार गरेका थिए ।

त्यस्तै विद्युतीय चुरोट भेपमार्फत भएको ९ किलो सुन तस्करीमा समेत विमानस्थलका कर्मचारीलाई फोन गरेको विषय महराले स्वीकार गरेका थिए । भेपमार्फत भको सुन प्रकरणमा समेत महराले गत १५ असोजमा सीआईबीमा बयान दिएका थिए । दाओजिनसँग आफ्नो पुरानो चिनजान रहेको महराले सीआईबी समक्ष स्वीकारेका थिए ।

महराले वाङलाई आफूले फलफूल व्यापारीको रूपमा चिनेको र उनले भन्सारमा सामान रोकियो भनेपछि तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई फोन गरेको तर सुन तस्करीबारे जानकारी नै नभएको बयान दिएका थिए ।

भेपमार्फत नै भएको ९ किलो सुन तस्करी प्रकरणमा सीआईबीले महराका छोरा राहुललाई पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी अहिले पुर्पक्षमा थुनामा छन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १६:३६

लोकप्रिय