सूचनाको शक्ति - The Power Of Information

        

बाँकेबाट नौ हजारभन्दा बढीले एसईई दिँदै

यहि चैत १५ गतेबाट सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा बाँके जिल्लाबाट नौ हजार २९३ जना विद्यार्थी सहभागी हुने भएका छन् ।

जिल्लाका विभिन्न ८ वटा पालिकाका २८ सामुदायिक र ६ संस्थागत गरी ३४ परीक्षा केन्द्रबाट नौ हजार १०२ नियमित र १९१ ग्रेड वृद्धि गरी जम्मा नौ हजार २९३ जना विद्यार्थीले एसईई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख रामसुरेश यादवले जानकारी दिनुभयो ।

इकाई प्रमुख यादवका अनुसार एक मदरसासहित १०१ सामुदायिक विद्यालय र ९७ संस्थागत गरी १९८ विद्यालयका चार हजार ७६३ छात्र र चार हजार ५३० छात्रा गरी नौ हजार २९३ विद्यार्थीले एसईई दिने भएका हुन् । उहाँका अनुसार १० वटा सामुदायिक विद्यालयका ३५७ जना प्राविधिकधारका विद्यार्थीे पनि एसईईमा सहभागी हुनेछन् ।

जसमध्ये सामुदायिक १०१ विद्यालयका तीन हजार दुई सय छात्र र तीन हजार २४० छात्रा गरी छ हजार ४४० विद्यार्थी र संस्थागत ९७ विद्यालयका एक हजार ६७१ छात्र र एक हजार १८२ छात्रा गरी दुई हजार ८५३ विद्यार्थी रहेका छन् ।

एसईईमा जयेन्दु बाल सुधार गृहका ३३ र नौ वस्ता बाल सुधार गृहका ११ गरी ४४ जना बालबिज्याईकर्ता पनि सहभागी रहने उहाँले बताउनुभयो । त्यसैगरी दृष्टिविहीन पाँच जना, कान नसुन्ने तीन जना र शारिरीक अपाङ्गता भएका दुई गरी १० जना अपाङ्ग क्षेत्रका विद्यार्थी पनि सहभागी रहने उहाँले बताउनुभयो ।

बाल सुधार गृहमा रहेका बालबिज्याईकर्ताहरुलाई सुधार गृहमै परीक्षा दिने व्यवस्था मिलाइएको यादवले बताउनुभयो । डुडुवामा रहेको जयन्दु बाल सुधार गृहका ३३ जना बालबिज्याईकर्तालाई नेपालगन्जमा रहेको मङ्गल माध्यमिक विद्यालय उपकेन्द्र र बैजनाथमा रहेको नौवस्ता बाल सुधार गृहका ११ जना बालबिज्याईकर्तालाई सूर्योदय माध्यमिक विद्यालय चिसापानी उपकेन्द्रमार्फत् परीक्षा लिइने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

सबैभन्दा बढी कोहलपुर नगरपालिकामा १०, नेपालगन्ज उपमहानगरपालिकामा नौ, खजुरा, राप्तीसोनारी र बैजनाथमा गाउँपालिकामा चार–चार र जानकी, डुडुवा र नरैनापुर गाउँपालिकामा एक–एक गरी जम्मा ३४ परीक्षा केन्द्र तोकिएको इकाई प्रमुख यादवले जानकारी दिनुभयो ।

बैजनाथको सुर्योदय माध्यमिक विद्यालय चिसापानी केन्द्रबाट सबैभन्दा बढी ४१७ विद्यार्थीले एसईई दिन लागेका छन् । त्यसैगरी बैजनाथकै भगवती माध्यमिक विद्यालय हसनापुर केन्द्रबाट सबैभन्दा कम १७२ जना विद्यार्थी एसइइमा सहभागी हुन लागेको यादवले बताउनुभयो ।

गत वर्ष बाँके जिल्लाबाट आठ हजार ८८६ जना विद्यार्थीले एसईई दिएका थिए । यो वर्ष गत वर्षको तुलनामा ४०७ बढी विद्यार्थी एसईईमा सहभागी हुनेछन् ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १४:१२

लोकप्रिय