सूचनाको शक्ति - The Power Of Information

        

बैतडीमा कोदालो प्रहारबाट गाउँपालिका कर्मचारीसहित तीनजना गम्भीर

बैतडीमा कोदालो प्रहारबाट ३ जना गम्भीर घाइते भएका छन्। जिल्‍लाको डिलाशैनी गाउँपालिका ७ धामीगाउँका ६२ वर्षीय किसनसिंह धामीले कोदालो प्रहार गरेका हुन्।

कोदालो प्रहारबाट उनकी श्रीमती ५६ वर्षीया पार्वती धामी, दशरथचन्द नगरपालिका ९ घर भएर डिलाशैनी गाउँपालिका उद्यम विकास शाखा प्रमुखका रूपमा कार्यरत २९ वर्षीय सुभाष कलौनी र डिलाशैनी गाउँपालिकामा कार्यालय सहयोगीका रूपमा कार्यरत २६ वर्षीय देवराज भट्ट घाइते भएका छन्।

बिहीबार बिहान ९ बजे किसनले आफ्नी श्रीमतीलाई कोदालो प्रहार गरेको र त्यसपछि उनकै घरमा डेरा गरी बसिरहेका कलौनी र भट्टमाथि पनि कोदालो प्रहार भएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

घाइते तीनै जनाको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेकाले थप उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भएको प्रहरी नायब उपरीक्षक गिरीले बताए।

कोदाली प्रहार किन गरे भन्नेबारे खुल्न सकेको छैन। कोदालो प्रहार गर्ने किसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे अनुसन्धान गर्न जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक खेमविक्रम केसी नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

प्रकाशित मिति : ८ चैत्र २०८०, बिहीबार १३:४९

लोकप्रिय