सूचनाको शक्ति - The Power Of Information

        

चट्याङ लागेर प्रहरी सहायक हवल्दारको मृत्यु

चट्याङ लागेर पाँचथरमा एक प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार पाण्डवकुमार माझीको गएराति मृत्यु भएको हो ।

गएराति ११ः२० बजे प्रहरी चौकीको ढोकामा उभिएका माझीलाई चट्याङको झड्का लागेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । चौकीमा रहेका अन्य प्रहरीले माझीलाई उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र गोपेटार पुर्‍याएका थिए ।

“प्राथमिक उपचारपश्चात् थप उपचारका लागि मध्यरातमा जिल्ला अस्पताल पुर्‍याएका थियौँ । चिकित्सकले करिब राति १२ बजे माझीलाई मृत घोषित गरेका थिए”, प्रनि कुशवाहाले भने ।

उनका अनुसार प्रहरी सहायक हवल्दार माझी साँझको गस्ती गरिरहेका बेला हावाहुरीसहित पानी परेपछि कार्यालय फर्किएर चौकीको ढोकामा उभिएको अवस्थामा चट्याङको झड्का लागेको थियो ।

मोरङको ग्रामथान गाउँपालिका–४ घर भएका ३५ वर्षीय माझी इलाका प्रहरी कार्यालय मौवामा दरबन्दी भई प्रहरी चौकी गोपेटारमा कार्यरत रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

मृतक माझीको शव परीक्षणका लागि जिल्ला अस्पतालको शव गृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १४:५४

लोकप्रिय