सूचनाको शक्ति - The Power Of Information

        

व्यापार महोत्सव :आज ज्योती मगरले नेपालगन्ज तताउने

नेपालगन्जको वाटरपार्कमा मङ्गलबारदेखि सुरु भएको सातौँ प्रादेशिक औद्योगिक लघु, घरेलु तथा कृषि, व्यापार एवम् पर्यटन महोत्सवको दोस्रो दिन आज ज्योती मगरको बेजोड प्रस्तुती रहनेछ ।

मेहनत सृजना उत्पादन र बस्तुः मेरै नेपालको भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवको दोस्रो दिन गायिका ज्योती मगरले आफ्नो प्रस्तुती राख्ने आयोजक महासंघका प्रचारप्रसार संयोजक इन्द्रबहादुर खत्रीले जानकारी दिनुभयो ।

ज्याती मगरका साथ दोस्रो दिन गायक कमल विसी ‘माल्दाई’ र सपना शाहीको प्रस्तुती रहनेछ । भने पुरुषोत्तम सापकोटा र रुपा घर्तीमगरको जोडीले उक्त कार्यक्रमको सञ्चालन गर्नेछन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला कार्यसमिति(महिला उद्यमी समिति) बाँकेको आयोजना, महासंघ नेपालगन्ज नगरसमितिको सहआयोजक रहेको महोत्सवलाई मुख्य प्रायोजक होटल बाटिका, प्रायोजक नेपाल टेलिकम र संरक्षकमा नेपालगन्ज उपमहानगरपालिका रहेकोछ ।

चैत १८ गतेसम्म सञ्चालन हुने महोत्सवका समयमा होली पर्ने भएकाले चैत १२ गते होली उत्सव कार्यक्रम राखिएको छ । होली उत्सवका दिन नेपाली सिने जगतका ख्याती प्राप्त कलाकार पल शाहलाई आमन्त्रण गरिएको छ ।

यसअघि हिजो लुम्बिनी प्रदेशका पूर्व मन्त्री कृष्णा केसी ‘नमूना’ले महोत्सवको औपचारिक उद्धाटन गर्नु भएको हो । महोत्सव उद्घाटनअघि सेतु विक चोकबाट निस्किएको विभिन्न बाजागाजा तथा लोकसंस्कृति झल्किे झाँकीसहितको ¥यालीले नगर परिक्रमा गरि वाटरपार्कमा पुगेको थियो । महासंघ, बाँकेका अध्यक्ष मधुकुमारी खड्काका अनुसार महोत्सवमा १७५ स्टल बुक भइसकेका छन् ।

जसमध्ये व्यवसायिकका ९०, घरेलुका ५०, प्रायोजकका ८, थारु गाउँका १२ र होटल सम्बन्धि १५ स्टल रहेका छन् । महोत्सव अवलोकनका लागि टिकटको मूल्य रु १०० राखिएको छ ।

विद्यार्थीहरुका लागि ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ । तराई क्षेत्रमा गर्मी बढ्न थालेको अवस्थालाई ध्यानमा राखेर महोत्सव साँझ ८ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

महोत्सवमा रु दुई करोड बढीको कारोबार तथा दुई लाख बढी दर्शक अवलोकन गर्न आउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८०, बुधबार १०:२६

लोकप्रिय