सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्ज मेडिकल कलेजमा ब्रेन ट्युमरको जटिल शल्यक्रिया

नेपालगन्ज मेडिकल कलेजद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पतालमा पहिलो पटक अवेक क्रेनियोटोमी गरी सात दिनभित्र दुई वटा जटिल किसिमका ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ ।

नेपालगन्ज मेडिकल कलेजका प्रबन्ध निर्देशक डा. सुरेशकुमार कनौडियाका अनुसार नेपालगन्जस्थित शिक्षण अस्पतालले पश्चिम नेपालमै जटिल खालको यो शल्यक्रिया पहिलो पटक नेपालगन्जमा सम्पन्न गर्न सफल भएको हो ।

उहाँले अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंको सहकार्यमा मेडिकल कलेजमा न्यूरो साइन्स विभाग सञ्चालनमा आएपछि यस्तो प्रकारको अति नै जटिल खालको शल्यक्रिया सम्भव भएको बताउनुभयो ।

नेपालगन्ज उप–महानगरपालिका ११ का रेखा कश्यप र वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतकी दीपा गौतमको अवेक क्रेनियोटोमी गरी ब्रेन ट्युमरको शल्यक्रिया सफलतापूर्वक गरिएको शिक्षण अस्पतालले जनाएको छ ।

एक हप्ताको बिचमा शल्यक्रिया गरिएका दुबै जना बिरामीको अवस्था सामान्य रहेको र उनिहरुलाई डिस्चार्ज गरेर घर पठाइएको प्रबन्ध निर्देशक डा. कनौडियाले बताउनुभयो ।

सो दुबै जटिल शल्यक्रियामा न्यूरोसर्जन डा.मनीष कोलाक्षपति, डा.निरज घिमिरे, डा.सुबोध गौतम, डा.उपमा शर्मा र एनेस्थेसिया विभागबाट डा.नवीन कुमार रेग्मी, डा.कपिल पोख्रेललगायतको टिम सहभागी रहेको अस्पतालले जनाएको छ ।

अवेक क्रेनियोटोमी ब्रेन ट्युमर शल्यक्रिया भनेको बिरामीलाई अर्धचेत अवस्थामा राखी मस्तिष्कमा भएको ट्युमर निकाल्ने एक प्रकारको शल्यक्रिया भएको चिकित्सकहरुले बताएका छन् ।

अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंको सहकार्यमा नेपालगन्ज मेडिकल कलेजमा न्यूरो साइन्स विभाग सञ्चालनमा आएपछि पश्चिम नेपालका बिरामीहरुले न्यूरोसम्बन्धी उपचारका लागि भारतको लखनउ र नेपालको काठमाण्डौ जानुपर्ने बाध्यताको अन्त्य हुँदै गएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १६:५६

लोकप्रिय