सूचनाको शक्ति - The Power Of Information

        

शुक्लाफाँटाका बेरोजगारलाई १०० दिनको रोजगारी

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत शुक्लाफाँटा नगरपालिकामा ५९ जनालाई १०० दिनको रोजगारी उपलब्ध गराइएको छ । कार्यक्रमअन्र्तगत रोजगारीका लागि ३९० महिला र ७३ पुरुष गरी ४६३ जना सूचीकृत भएका छन् । सूचीकृत भएकामध्ये ५९ जनालाई रोजगारीमा संलग्न गराइएको हो ।

नगरपालिकाको रोजगार शाखाका प्रमुख कृष्ण भट्टका अनुसार युवा रोजगारीका लागि रुपान्तरण पहलअन्तर्गत ३४ र कामका लागि परिश्रममा आधारित सामुदायिक आयोजना अन्तर्गत २५ जनालाई रोजगारी उपलब्ध गराइएको छ ।

रोजगारीमा संलग्न ५९ जनामा ९५ प्रतिशत महिला छन् । चालु आर्थिक वर्षका स्वीकृत ६० वटा आयोजनामध्ये १८ आयोजनालाई कार्यान्वयनमा ल्याई नगरपालिकाका बेरोजगारहरूलाई रोजगारीमा संलग्न गराइएको शाखा प्रमुख भट्टले बताए ।

‘कार्यक्रमको मापदण्डअनुरुप दैनिक रु ६२८ न्यूनतम पारिश्रमिक दिनेगरी सय दिनको रोजगारी उपलब्ध गराएका छौँ,’ उनले भने, ‘रोजगारीका लागि सूचीकृत भएकामध्ये दलित, आदिवासी जनजाति, गरिबीको रेखामुनि रहेका व्यक्तिलाई छनोट गरी रोजगारीमा संलग्न गराएका छौँ ।’

रोजगारीमा संलग्नलाई सम्बन्धित वडा कार्यालयको साझेदारीमा भू–क्षय हुँदै गरेका क्षेत्रमा जैविक तटबन्ध निर्माण, बगैँचा निर्माण तथा वृक्षरोपण, नाली सरसफाइ तथा खोदान र नयाँ सडकको ट्रयाक खोल्ने कार्यमा लगाइएको नगरपालिकाको रोजगार शाखाका प्राविधिक सहायक धिरज ऐरले बताए ।

‘आर्थिक अवस्था कमजोर हँुदा मजदुरी खोज्दै हिँडनुपर्ने अवस्था थियो,’ नगरपालिकाको वडा नं ९ का दुर्गादेवी तिरुवाले भनिन्, ‘नगरपालिकाका बेरोजगारलाई सूचीकृत गर्न सूचना टाँस गरिएको देखेपछि निवेदन दियौँ, सूचीकृत भएको जानकारी पायौँ, त्यसको केही महिनामा रोजगारीमा छनोट भएको जानकारी पाइयो ।’ अहिले १०० दिनको रोजगारीमा संलग्न भई काम गर्दै आएकाले अरु क्षेत्रमा मजदुरी खोज्न जानु नपरेको उनले बताइन् ।

‘बाह्य क्षेत्रमा कामदारलाई दैनिक ज्यालाबापत रु ५०० मात्रै उपलब्ध हुने गरेको छ,’ उनले भने, ‘महिला भएपछि सबैले मजदुरी दिँदैनन्, सहजरूपमा कार्यक्रम अन्तर्गत दैनिक ज्याला रु ६२८ पाइन थालेको छ, रोजगारी पाउँदा घरखर्च सहजरूपमा चल्न थालेपछि निकै खुसी छौँ ।’ गत आर्थिक वर्षमा नगरपालिकामा ५७७ जना प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत भएकामा ८९ जनालाई छनोट गरी रोजगारीमा संलग्न गराइएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १०:५२