सूचनाको शक्ति - The Power Of Information

        

सातौँ निफमा ‘बुलाकी’ लाई उत्कृष्ट फिल्मको अवार्ड

सातौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा नेपाली फिल्म ‘बुलाकी’ ले तीन महत्वपूर्ण अवार्ड हात पारेको छ । सोमवार सम्पन्न महोत्सवमा बुलाकीले उत्कृष्ट निर्देशक, उत्कृष्ट अभिनेत्री तथा उत्कृष्ट फिल्म गरी तीन अवार्ड हातपारेको हो ।

लक्ष्मण सुनारको निर्देशनमा बनेको फिल्ममा सुरक्षा पन्त तथा नरेन खड्का मुख्य भूमिकामा छन् । बुलाकीले एक लाख नगद पुरस्कारको उत्कृष्ट फिल्म अवार्ड हात पार्दा अर्को नेपाली फिल्म ‘एक भागवत: एक गीता’ ले उत्कृष्ट छायांकन तथा उत्कृष्ट अभिनेताको अवार्ड पायो ।

उत्कृष्ट पटकथाको अवार्ड फिल्म ‘डेसान’ ले पाएको छ । नेपाली चलचित्रतर्फ ‘एक भागवतः एक गीता’ बाट राजेश श्रेष्ठ तथा संकल्प भुजेल सर्वश्रेष्ठ छायाँकार तथा विपिन कार्कीले सर्वश्रेष्ठ अभिनेताको पुरस्कार जित्न सफल भएका छन् । महोत्सवमा फिल्म ‘डेसान’ का कमल इक्छाइ मगर सर्वोत्कृष्ट पटकथा लेखक बन्न सफल भएका छन् ।

सुरक्षा पन्त (बुलाकी) र विपिन कार्की (एक भागवत: एक गीता) उत्कृष्ट अभिनेत्री तथा अभिनेताको रुपमा पुरस्कृत हुँदा अन्तर्राष्ट्रिय तर्फ गौतम बुद्ध उत्कृष्ट न्यारेटिभ फिचर फिल्मको अवार्ड रजनी बासुमात्री निर्देशित भारतीय फिल्म वाइल्ड स्वनले जितेको छ ।

त्यस्तै अन्तर्राष्ट्रिय तर्फ इभान जोभिक निर्देशित सर्बियन फिल्म लजारुस पाथ उत्कृष्ट फिल्म बन्न सफल भएको छ भने उत्कृष्ट डकुमेन्ट्रिको माउन्ट एभरेस्ट अवार्ड पोर्चुगलको लभ लाइट्सले हात पारेको छ । जिजाओ निर्देशित चाइनिज फिल्म द ट्रेकर, द वल्फ एण्ड द मंकीकिङले स्पेशल मेन्सन अवार्ड हात पारेको छ ।

इनुमा राई निर्देशित जर्ना उत्कृष्ट राष्ट्रिय डकुमेन्ट्रि बन्दा किरण श्रेष्ठ निर्देशित येट अनोदर विन्टरले उत्कृष्ट सर्ट फिल्मको अवार्ड पाएको छ । त्यस्तै अन्तर्राष्ट्रिय तर्फको उत्कृष्ट लाइभ एक्सन सर्ट फिल्मको अवार्ड इजिप्टको आइ प्रमिस यु पाराडाजले पाएको छ । जसको निर्देशक मोराद मोस्ताफा रहेका छन् ।

चैत १ गते सुन्धाराको सिभिल मलस्थित क्युएफएक्समा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सिनेकर्मीको उपस्थितिमा उद्घाटन भएको महोत्सव ५ गते सोमवार सोही ठाउँमा समापन भएको हो ।

पाँच दिनसम्म छाया सेन्टर, सिभिल मल, लबिम मल र भक्तपुर भाटभटेनीका क्युएफएक्स हलमा ४० देशका ८८ फिल्म तथा डकुमेन्ट्री प्रदर्शन गरिएको महोत्सव आनि छोइङ डोल्मामाथि बनेको डकुमेन्ट्री मिसन इम्पोसिबल प्रदर्शन गरेर सुरुवात भएको थियो ।

प्रकाशित मिति : ६ चैत्र २०८०, मंगलवार १०:४७

लोकप्रिय