सूचनाको शक्ति - The Power Of Information

        

दूधको उचित मूल्य नपाउँदा किसान मारमा

दाङको राजपुर गाउँपालिका–३ बसन्तपुरका महेश यादवले दैनिक लमही बजारमा दूध बिक्री गर्छन् । उनले २९ भैँसी पालेका छन् । बिहानै यादव दूध बिक्री गर्न लमही बजारका गल्ली तथा डेरीसम्म पुग्छन् । यादवले दैनिक ८० लिटर दूध बिक्री गर्ने गरेको बताए ।

उनले प्रतिलिटर दूध रु ७० देखि रु ७५ सम्ममा बिक्री गर्छन् । यादवले मोटरसाइकलमा दूध बिक्री गर्न जाँदा बढी खर्च हुने गरेको बताए । ‘खर्च धेरै छ, आम्दानी न्यून हुन्छ,’ यादवले भने । बिहान उठेदेखि बेलुकासम्म उनलाई भैँसीको स्याहार सुसार गर्न भ्याइनभ्याई हुने गरेको छ ।

भैँसीको स्याहार सुसार गर्नु तथा दूध बिक्री गर्न लमहीसम्म पुग्नु यादवको दैनिकी नै हो । मेहनत अनुसारको दूधको मूल्य नपाएको उनको भनाइ छ । ‘दूधको मूल्य बढाए बिक्री नहुने समस्या छ,’ उनले भने, ‘निश्चित ग्राहक छन्, मूल्य बढाउने बित्तिकै ग्राहकको सङ्ख्या घट्छ ।’

दूध खेर फाल्नुभन्दा सस्तोमा बिक्री गर्नु उचित भएको यादव बताउँछन् । यसैगरी राजपुर–३ बसन्तपुरकै लवकुस यादवले पनि दूध प्रतिलिटर रु ४५ देखि रु ६० सम्ममा बिक्री गर्दै आएका छन् । खरिदकर्ताले आफूखुसी मूल्य निर्धारण गर्ने गरेको उनको भनाइ छ ।

यादवले गाउँकै होटल तथा सङ्कलन केन्द्रमा दूध बिक्री गर्छन् । ‘दूध उत्पादन बढी भएकाले सस्तोमा बेच्नु परेको छ,’ यादवले भने । राज्यले कृषकले उत्पादन गरेको दूध उचित मूल्यमा खरिद गर्ने वातावरण बनाइदिनुपर्ने उनको भनाइ छ ।

घोराही उपमहानगरपालिका–२ रामपुरमा ‘ग्रिन लक्ष्मी गाई तथा भैँसी फार्म’ सञ्चालन गर्दै आएका गोपाल खनाल दैनिक १०० लिटरभन्दा बढी दूध उत्पादन गर्छन् । उनले रु ९० मा दूध स्थानीय डेरीलाई बिक्री गर्दै आएका छन् ।

बाँकी दूध उपभोक्ताको घर घरमा गएर पनि बिक्री गर्ने गरेको उनको भनाइ छ । ‘प्रतिलिटर रु ७० भन्दा बढीमा दूध बिक्री गर्नै सकिएको छैन,’ खनालले भने । उनीसँग रु ७० मा दूध खरिद गर्ने डेरीले भने उपभोक्तालाई रु १०० मा बिक्री गर्ने गरेका छन् ।

सरकारले दूधको उचित मूल्य निर्धारण गर्नुपर्ने कृषकको माग छ । स्थानीय तहले कृषकको समस्या बुझ्न नसकेको उनीहरु बताउँछन् । ‘स्थानीय सरकार कृषकको समस्याबारे बेखबर छ,’ खनालले भने । उनको फार्ममा हाल २८ गाई भैँसी छन् ।

स्रोत : रासस
प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १७:२०

लोकप्रिय