सूचनाको शक्ति - The Power Of Information

        

सम्बन्धविच्छेदका घटनामा कमी आएन

जिल्ला अदालत रुकुम पश्चिमले चालु आर्थिक वर्ष २०८०–०८१ को फागुन मसान्तसम्म दुई सय दुई मुद्दा फछर्यौट गरेको जनाएको छ । गत साउनदेखि फागुनसम्म दर्ता भएकामध्ये सो सङ्ख्यामा मुद्दा फछर्यौट गरेको जनाएको हो ।

जिल्ला अदालत रुकुम पश्चिमका स्रेस्तेदार मन्दिरा शाहीका अनुसार गत आवदेखि जिम्मेवारी सरेर आएका १६६ र चालु आवमा नयाँ दर्ता भएका ३०९ गरेर हालसम्म ४७५ मुद्दा जिल्ला अदालत दर्ता भएका छन् । दर्ता भएकामध्ये हालसम्म २०२ मुद्दा मात्र फछर्यौट भएका उनले जानकारी दिए ।

स्रेस्तेदार शाहीका अनुसार वार्षिक फछर्यौटको लक्ष्य ५५० राखिएको छ । फागुनसम्म लक्ष्यको ३७ दशमलव चार प्रतिशत मुद्दा फछर्यौट भएको भन्दै लगतको भने ४२ दशमलव ५२ प्रतिशत मुद्दा फछर्यौट भएको उनले जानकारी दिए । उनका अनुसार अब २७३ मुद्दा फछर्यौट हुन बाँकी छन् ।

जिल्लामा कर्तव्य ज्यान सम्बन्धी, सम्बन्धविच्छेद, बालविवाह र घरेलु हिंसाका घटना बढी हुने गरेका स्रेस्तेदार शाहीले जानकारी दिए । ‘अदालतमा दर्ता भएका मुद्दामध्ये ३७ प्रतिशत भन्दाबढी सम्बन्धविच्छेदका मुद्दा दर्ता हुने गरेका छन्,’ उनले भने, ‘आर्थिक अभावले विदेशीनु, सानै उमेरमा पढाइ छोड्नु, बालविवाह गर्नु लगायत कारणले सम्बन्धविच्छेदका घटनामा कमी आउन सकेको छैन । करिब २० प्रतिशत घरेलु हिंसाका कारण सम्बन्धविच्छेद हुने गरेको छ ।’

सम्बन्धविच्छेदका केही मुद्दामा मिलापत्र गरेर पठाए पनि केहीमा नसकिएको जिल्ला अदातलका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले बताए । सेवा प्रवाहलाई थप व्यवस्थित गर्न मुद्दाका मिसिललाई विद्युतीय माध्यमबाट संरक्षण गर्न सुरु गरिएको, बालमैत्री र स्तनपान कक्ष सञ्चालनमा ल्याएको र सेवाग्राहीका लागि फोटोकपी निःशुल्क व्यवस्था गरिएको उहाँले जानकारी दिए ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार १३:४३

लोकप्रिय