नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । सुन तस्करी प्रकरणको अनुसन्धानका लागि महरालाई कपिलवस्तुको पकडीबाट प्रहरीले नियन्त्रणमा लिएको हो । महरा नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ परेका हुन् । उनी भैरहवा नाका हुँदै भारत जाने तयारीमा रहेको अनुमान प्रहरीले गरेको छ ।
सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगले माओवादी उपाध्यक्ष महरामाथि पनि मुद्दा चलाउन सिफारिस गरेको थियो । आयोगले चैत १ गते प्रतिवेदन बुझाएसँगै महराले चलखेल सुरू गरेका थिए । महराले काठमाडौं छोडेको खबर प्रहरीमा पुगेको थियो । त्यसपछि प्रहरीले सबै सीमा नाकामा कडाइ गरेको थियो ।
देशभरका सीना नाकामा आइतबार दिउँसोबाटै प्रहरी परिचालन गरिएको थियो । सुन तस्करीको जाँचबुझ गर्न गठित आयोगले महरालाई कारबाही सिफारिस गरेको थियो । लगत्तै उपप्रधान गृहमन्त्री रवि लामिछानेले प्रतिवेदन अनुसार आरोपितहरूलाई कारबाही गर्न नेपाल प्रहरीको सीआइबीलाई निर्देशन दिएका थिए ।
लामिछानेले आइतबार गृहसचिव एकनारायण अर्याल, प्रहरी महानिरीक्षक वसन्त कुँवर र सीआइबी प्रमुख एआइजी श्याम ज्ञवालीलाई बोलाएर यस्तो निर्देशन दिएका थिए । गत साउन २ मा ‘ब्रेक शु’मा लुकाएर ल्याइएको ६१ किलो र २०७९ पुसमा विद्युतीय चुरोट (भेप)मा ल्याइएको ९ किलो सुन तस्करीमा पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा, छोरा राहुल, पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुन र परराष्ट्रविज्ञ जीवन गुरुङसहित मुछिएका थिए ।
उनीहरूलाई प्रहरीले उन्मुक्ति दिएको भन्दै सञ्चारमाध्यममा निरन्तर समाचार प्रकाशित भएपछि सत्यतथ्य जाँचबुझ गर्न संसद्मा माग उठेको थियो । पूर्वसभामुख महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको सरकारी अनुसन्धानबाट पुष्टि भइसकेको छ । चिनियाँ तस्कर र उसको समूहसँग महरा बाबुछोराले २५६ पटक फोन सम्पर्क गरेको खुलेको छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । काठमाडौं