सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरण

माओवादी नेताकै घरबाट पक्राउ परेका महरालाई काठमाडौं पठाइयो

पक्राउपछि माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा आफैँले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं पठाइएको छ ।

रुपन्देहीबाट पक्राउ परेका माओवादी उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं ल्याइँदैछ । पक्राउ परेका उनलाई भैरहवा विमानस्थल हुँदै जहाजमार्फत काठमाडौं ल्याउन लागिएको हो । उनी काठमाडौंबाट रोल्पा जानका लागि भैरहवा विमानस्थल हुँदै रुपन्देही पुगेका थिए ।

बिहान धकधईस्थित माओवादी नेता वकिल मुसलमानको घरबाट महरालाई प्रहरीले पक्राउ गरेको छ । ‘महरा सर खाना खान जानुभएको थियो, त्यसैबेला नियन्त्रणमा लिइएको हो,’ रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक मनोहर भट्टले भने । पक्राउपछि महरा आफैँले काठमाडौं फर्किने चाहना गरेपछि विमानबाटै काठमाडौं पठाइएको बताए ।

आइतबार मात्र गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा मुछिएका सबै जनामाथि अनुसन्धान प्रक्रिया अगाडि बढाउन प्रहरीलाई निर्देशन दिएका थिए । भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् ।

भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।

सुन तस्करी सम्बन्धमा छानविन गर्न गठीत उच्चस्तरीय जाँचबुझ आयोगले महरासहित १२ जनालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सीआइबीले यसअघि महरालाई ९ किलो सुन प्रकरणमा बयान लिएर छाडेको थियो । सुनको अवैध पैठारी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ११:३४

लोकप्रिय