सूचनाको शक्ति - The Power Of Information

        

सुन तस्करी प्रकरण

पूर्व सभामुख कृष्णबहादुर महरा रुपन्देहीबाट पक्राउ

पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । रोल्पा हिँडेका महरालाई प्रहरीले केही बेरअघि रुपन्देहीबाट पक्राउ गरिएको हो ।

केन्द्रीय प्रहरी प्रवक्ता भीम ढकालले उनलाई रुपन्देहीबाट नियन्त्रणमा लिएर काठमाडौँ ल्याउन लागिएको जानकारी दिए । सुन तस्करी प्रकरणमा मुछिएका महरा प्रहरीको निगरानीमा रहँदै आएका थिए भने रोल्पा हिँडेका भनिएका उनलाई भैरहवाबाट पक्राउ गरिएको हो ।

आइतबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेकपा माओवादी केन्द्रका नेतासमेत रहेका महरासहित निजामती तथा प्रहरी कर्मचारीलाई तत्काल कारबाही गर्न निर्देशन दिएका थिए । सुन तस्करी प्रकरणमा आयोगले मुद्दा चलाउन सिफारिस गरेको आधारमा गृहमन्त्रीको निर्देशनपछि प्रहरीले उनलाई समातेको हो ।

भेप प्रकरणमा महरालाई प्रतिवादी बनाएर मुद्दा दर्ता गर्नुपर्ने सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको निष्कर्ष छ । महराका छोरा राहुल सो मुद्दामा अहिले पनि थुनामा छन् । महराका छोरा राहुललाई सीआईबीले गत भदौ १३ गते पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

भेप प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले राहुलबिरुद्ध ‘संगठित तस्करी’ गरेको आरोपमा अनुसन्धान गरेको थियो । सुन तस्करीमा संलग्न चिनियाँ गिरोहसँग महरा बाबुछोराको पटक–पटक टेलिफोन संवाद भएको अनुसन्धानबाटै पुष्टि भइसकेको छ ।

सुन तस्करी सम्बन्धमा छानविनका लागि गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगले महरालाई मुद्दा चलाउन सिफारिस गरेको थियो । सुनको अवैध पैठारी नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले ९ जना चिनियाँ नागरिकसहित २१ जनालाई कारबाही गर्न सिफारस गरेको थियो ।

आयोगले पूर्वसभामुखसमेत रहेका माओवादी केन्द्रका उपाध्यक्ष महरासहित १२ जनालाई कारबाही सिफारिस गरिएको छ । सीआईबीले यसअघि महरालाई ९ किलो सुन प्रकरणमा बयान लिएर छाडेको थियो।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ११:०३

लोकप्रिय