इलामको माई नगरपालिका–१ र ३ सङ्गम स्थलमा रहेको ‘तेह्रकुने सिमसार’ क्षेत्र आन्तरिक पर्यटकको गन्तव्यका रूपमा विकसित भएको छ । सिमसार, पोखरी र यहाँको प्राकृतिक सौन्दर्यले आन्तरिक पर्यटक आकर्षित भएका हुन् ।
स्थानीयको संरक्षणपछि विस्तार भएको तेह्रकुने पोखरीमा पूर्वाधार विकाससँगै इलाम, झापा, मोरङलगायत जिल्लाका पर्यटक सिमसार र पोखरी र अवलोकन गर्न आउने गरेको सिमसार संरक्षण समितिका अध्यक्ष करसिंह राई बताउँछन् । पोखरीमा डुङ्गा सञ्चालन गरेपछि पर्यटक आउन थालेका उनले बताए ।
समितिले पोखरीमा दुई वटा डुङ्गाको व्यवस्था गरेको छ । पर्यटकीय गतिविधि बढाउने उद्देश्यले पोखरीमा दुई वटा डुङ्गा चलाउन थालिएको समितिका अध्यक्ष राईले बताए । ‘पोखरीमा डुङ्गा चलाउन सुरु गरेसँगै यहाँ पर्यटकको आगमनमा वृद्धि भएको छ, अन्य ठाउँमा पोखरी सुक्दै गइरहेको भए पनि यो पोखरी दिनानुदिन फस्टाउँदै गएको छ,’ अध्यक्ष राईले भने ।
उनका अनुसार डुङ्गाबाट पोखरीको सबै क्षेत्र घुम्न सकिन्छ, यस क्षेत्रमा नौलो कार्यक्रम भएकाले स्थानीयसँगै टाढाबाट पनि रमाइलो गर्न आउने बढेका छन् । पर्यटक प्रतिव्यक्ति रु १०० को टिकट काटेर नौका विहारमा रमाउने गरेका छन् । तेह्रकुने सिमसार र पोखरी अवलोकनका लागि दैनिक सयौँको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका स्थानीय पर्वत राईले बताए ।
‘शनिबार र सार्वजनिक बिदाका अन्य दिन पोखरी घुम्न आउने पर्यटकको भिडभाड हुने गरेको छ, पोखरी घुम्न आउने पर्यटकले यस क्षेत्रको चहलपहल बढेको छ,’ उनले भने, ‘सिजनको बेला वनभोजका लागि आन्तरिक पर्यटक आउने गरेका छन् ।’ तेह्रकुने सिमसार क्षेत्र पुग्ने सडक विस्तारसँगै पर्यटकलाई सहज भएको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धनका लागि तेह्रकुने सिमसार क्षेत्रलाई थप व्यवस्थित गरिने अध्यक्ष राईले बताए । इलाम सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा पर्ने तेह्रकुने सिमसार क्षेत्र स्थानीयको पर्यटन विकासप्रतिको मोह र सक्रियताका कारण आकर्षक गन्तव्यका रूपमा विकास भएको हो । विगत एक दशकदेखि स्थानीयले संरक्षण गरेको सिमसार क्षेत्र करिब ३०० रोपनी क्षेत्रमा फैलिएको छ ।
सिमसार क्षेत्र ३०० रोपनी भए पनि पोखरी क्षेत्र भने १०० रोपनीमा सीमित छ । वरिपरिको हरियाली, डाँडाकाँडा र वनजङ्गलले पोखरीको सौन्दर्य थपेको छ । जैविक विविधता, प्राकृतिक सौन्दर्य र भौगोलिक सहजताले पर्यटकका लागि यो ठाउँ साँच्चै आकर्षक छ । विशेषगरी आदिवासी राई समुदायको बसोबास रहेको यो क्षेत्रमा उनीहरूको सँस्कृती बारेमा पनि जान्न सकिन्छ ।
फोन : ०८१-५९०५०९, ९८५८०७४२५०
Email : info@satyapati.com, satyanews100@gmail.com
Phone : ९८५८०४००६३,९८५८०४००६४
Email : satyanews100@gmail.com
अध्यक्ष-सम्पादक : काशीराम शर्मा
कार्यकारी निर्देशक : विष्णु सापकोटा
कार्यकारी सम्पादक : शोभा केसी
Copyright © All right reserved to Satyapati.com. Site By: Aarush Creation
Design : Aarush Creation
सत्यपाटी संवाददाता । इलाम