सूचनाको शक्ति - The Power Of Information

        

नयाँ भवनबाट शीघ्र सेवा प्रवाह गर्दै जोगबुडा अस्पताल

डडेल्धुराको परशुराम नगरपालिकास्थित जोगबुडा अस्पताल भवनको निर्माण अन्तिम चरणमा पुगेसँगै नयाँ भवनबाट सेवा प्रवाहको तयारी अस्पताल प्रशासनले थालेको छ । शहरी विकास तथा भवन निर्माण कार्यालयका अनुसार पुनःम्याद थप नहुने भएकाले निर्माण कम्पनीले दिनरात काम गरिरहेको छ ।

१५ शैय्याको उक्त अस्पताललाई स्तरोन्नति गर्ने तयारी पनि भइरहेको छ । अहिले भवनमा रङगरोगनको काम धमधम भइरहेको छ । कैलाश निर्माण कम्पनीसँग चारवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी भ्याटबाहेक रु. १३ करोड ६८ लाख ३० हजारमा ठेक्का सम्झौता भएको थियो ।

सम्झौता अनुसार अस्पताल भवन २०७९ वैशाख १४ मा निर्माण पूरा गरी हस्तान्तरण गर्नुपर्ने थियो तर निर्धारित समयमा काम पुरा नभएपछि निर्माण कम्पनीलाई २०८० साउन २४ गतेसम्मको म्याद दिइएको थियो । यसै महिनाभित्र काम पुरा गर्न अन्तिमपटक म्याद थप भएकाले निर्माण कम्पनी रातदिन काममा जुटेको हो ।

उक्त अस्पतालबाट जोगबुडाको परशुराम नगरपालिका, भागेश्वर र आलिताल गाउँपालिकाका साथै आसपासका क्षेत्रका सर्वसाधारण लाभान्वित हुनेछन् । यसैबीच, महाकाली अस्पतालको भवन निर्माण पनि तीव्र गतिमा भइरहेको छ । आगामी दुईवर्षभित्र निर्माण सम्पन्न गर्नेगरी रु. १४ करोड ३८ लाख २६ हजारमा जीके ओआई जेभीसँग ठेक्का सम्झौता भएको छ ।

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार ०७:३७

लोकप्रिय