सूचनाको शक्ति - The Power Of Information

        

दिपेश पुनलाई आठ दिन हिरासतमा राख्न अनुमति

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत रुपन्देहीबाट पुनलाई आठ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद लिएको रुपन्देहीका प्रहरीले जनाएको छ ।

गत शुक्रबार काठमाडौँबाट पक्राउ परेका पुनलाई अनुसन्धानका लागि रुपन्देही लगिएको थियो । तत्कालीन समयमा उनी उपाध्यक्ष रहेको बुटवलको सुप्रिम सहकारीमार्फत ठगी गरेको भन्दै पुनसहितका व्यक्तिविरुद्ध जाहेरी परेको थियो । उक्त सहकारीले बचतकर्ताको ७८ करोडभन्दा बढी रकम अपचलन गरेको आरोप लागेको छ ।

माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका महासचिव रहेका पुनको नाम सुन तस्करी प्रकरणमा समेत जोडिएको छ । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध देखिएको भन्दै अनुसन्धानको दायरामा ल्याउनुपर्ने सुन जाँचबुझ आयोगको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १९:२०

लोकप्रिय