सूचनाको शक्ति - The Power Of Information

        

प्रविधि प्रयोग गर्न पाउँदा उखु किसान उत्साहित

परम्परागत रूपमा उखु खेती गर्दै आएका स्याङ्जाको कालीगण्डकी गाउँपालिका–५ लुङ्सिङका किसान प्रविधिको प्रयोग गर्न पाउँदा उत्साहित भएका छन् । गोरु नारेर उखु पेल्दै आएका यहाँका किसानलाई गाउँपालिकाले अनुदानमा उखु पेल्ने मेसिन दिएपछि किसानले सहज महसुस गरेका छन् ।

परम्परागत शैलीमा उखुखेती गर्दा, पेल्दा अत्यन्त झन्झटिलो, श्रम र समयको खर्च बढी भएपछि यहाँका किसान उखुखेतीबाट बिमुख हुँदै गएको अवस्थामा गाउँपालिकाले उखु पेल्ने आधुनिक उपकरण, खेतीसम्बन्धी तालिम दिएपछि पुरानै पेसामा फर्कनेको सङ्ख्या बढ्दै गएको छ । लुङ्सिङका १५ घरपरिवार उखुखेतीमा आवद्ध छन् ।

यहाँका किसानले करिब १०० वर्षदेखि उखुखती गर्दै आएका छन् । खुदो बनाएर आम्दानी लिनु यहाँका किसानको मुख्य पेसा हो । स्थानीय भुवानन्द न्यौपानेले गोरु नारेर उखु पेल्दाश्रम र समयको खर्च हुने भएकाले उखु खेतीतर्फ जागर हराउँदै गएको स्मरण गरे । गाउँपालिकाले उखु पेल्ने मेसिन दिएपछि भने आफूहरूमा उत्साह थपिएको बताए ।

‘परम्परागत रूपमा उखु पेल्दा दिनैभरी लाग्थ्यो । मेसिनमा भने दिनभरको काम एकै घण्टामै हुने भएको छ,’ उनले भने, ‘गाउँपालिकाले यहाँका किसानलाई उखुखेती सम्बन्धी तालिमसमेत दिएको छ । यहाँका सबै किसानको मनस्थिति उखुखेती विस्तार गर्दै लैजाने छ ।’ बाउबाजेको सिको गर्दै उखुखेती गरिरहेका यहाँका किसान प्रविधिको ज्ञानको अभावमा विस्थापित हुने अवस्थामा पुगेका थिए ।

‘खेती लगाउन त्यति गाह्रो छैन । तर रसबाट खुदो बनाउन अत्यन्त मेहनत लाग्छ । ठूला ठूला मुडा, काठ दाउरा जङ्लबाट ल्याउन, पकाउन निक्कै गाह्रो छ,’ न्यौपानेले थपे, ‘खुदो बनाउन श्रम बढी खर्च हुने हुँदा युवाको आकर्षण यो पेसातर्फ त्यत्ति देखिँदैन । गुल्मीको थोर्गाबाट बीउ ल्याएर बाउबाजेले यहाँ उखुखेती सुरु गर्नुभएको हो भन्ने सुन्दै आएका छौँ । एक पाथी खुदो उत्पादन गर्न नौ पाथी रस आवश्यक पर्छ । बजारको कुनै समस्या छैन । रु २०० मा एक माना घरबाटै बिक्री हुन्छ ।’ न्यौपानेले दुई रोपनी जमिनमा उखु लगाएका छन् ।

उनले सिजनअनुसार धान मकै कोदो उत्पादन तथा बाख्रा पालेका छन् । यहाँका किसानले खुदो बिक्रीबाट वार्षिक एकदेखि पाँच लाखसम्म कमाइ गर्दै आएका छन् । भुवानन्दले पनि यसवर्ष पाँच सय माना खुदो उत्पादन गरेको सुनाए । खेती गर्ने आधुनिक प्रविधि, खुदो पकाउने बिजुली मेसिन सरकारबाट पाए आफूहरूले सही सदुपयोग गर्ने उनको भनाइ छ । किसान रुकमागत न्यौपानेले पनि चार रोपनी जमिनमा उखु खेती गर्दै आएका छन् ।

उनले खुदो बिक्रीबाट वार्षिक दुई लाख ५० हजारसम्म आम्दानी गर्ने गरेको सुनाए । रुकमागतले उखु खेतीलाई कहिलेकाहीँ कीराले सताउने गरेको गुनासो गरे । उनले पनि धान, गहुँ मकै खेतीसँगै बाख्रापालन गरेका छन् । किसान नन्दलाल न्यौपानेले उखु खेतीबाट राम्रो आम्दानी हुने बताए । ‘म जान्ने हुँदादेखि हाम्रोमा उखुखेती थियो । यसैबाट घरखर्च चलेको थियो,’ उनले भने, ‘उखुबाट किसानलाई राम्रो फाइदा हुन्छ ।’ उनी बाँझो जग्गामा उखु लगाउन सबैलाई सुझाव पनि दिन्छन् । यसवर्ष करिब १५ हजार लिटर खुदो उत्पादन गर्ने लुङ्सिङवासीको लक्ष्य छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १८:५८

लोकप्रिय