सूचनाको शक्ति - The Power Of Information

        

रुकुम पश्चिमका भूमिहीनलाई निस्सा

रुकुम पश्चिमका दुई हजार १६७ भूमिहीन लाभग्राहीलाई निस्सा वितरण गरिएको छ । जिल्लाका छमध्ये पाँच स्थानीय तहका भूमिहीन, सुकुम्वासी र अव्यवस्थित लाभग्राहीलाई राष्ट्रिय भूमि आयोग रुकुमपश्चिमले निस्सा वितरण गरेको हो ।

जिल्लाका पाँच स्थानीय तहमध्ये सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा एक हजार ४३ र सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा १०८ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई निस्सा वितरण गरिएको भूमी आयोगका अध्यक्ष मीनबहादुर ओलीले जानकारी दिए ।

उनका अनुसार चौरजहारी नगरपालिकामा ४९६ तथा सानीभेरीमा ३२४ र बाँफीकोट गाउँपालिकामा १९६ लाई निस्सा वितरण गरिएको छ । मुसीकोट नगरपालिकामा पहिचान भएका ५३ भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित लाभग्राहीलाई केही दिनभित्र निस्सा वितरण गरिने अध्यक्ष ओलीले जानकारी दिए ।

जिल्लाका सबै स्थानीय तहको लगत सङ्कलन भई डाटाइन्ट्री सम्पन्न भइसकेको आयोगका भूमि विज्ञ सदस्य सुुशील विष्टले जानकारी दिए । उनका अनुसार निस्सा प्राप्त गर्ने व्यक्ति उपर दाबी विरोध उजुरी गर्न भूमिहीन दलित र सुकुम्बासीलाई सात दिन र अव्यवस्थित बसोबासीलाई १५ दिनको सूचना प्रकाशन गरी छानबिन भइरहेको छ । त्यस्तै वडास्तरबाट भूमिहीनका लागि उपलब्ध गराउने जग्गाको छनोट तथा व्यस्थापन गरी स्थानीय तहबाट जिल्लामा पठाउने कार्य जारी छ ।

जिल्ल्लामा अव भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि जग्गा उपलब्ध गराउने, जग्गा नापजाँच गर्ने र जग्गाधनी प्रमाण पुर्जा वितरण गर्न बाँकी रहेको विज्ञ सदस्य विष्टले बताए । भूमिहीनलाई निस्सा वितरणसँगै भूकम्पपछि अस्थायी आवास निर्माण, सरकारी सेवा सुविधालगायत अन्य सेवा लिनसमेत सहज भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १८:५३

लोकप्रिय