सूचनाको शक्ति - The Power Of Information

        

बेतबाँसबाट व्यावसायिक बने बाधुराम

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–४ उत्तरबेहडीका बाधुराम चौधरी हस्तकला सम्बन्धी व्यावसायिक उद्यमी हुन् । उनले विगत पाँच वर्षदेखि बेतबाँसको सामाग्री उत्पादन गर्दै आएका छन् । चौधरीले बेतबाट घरायसी प्रयोगमा आउने धेरै प्रकारका सामान बनाइ बेच्छन् । उनलाई परिवारका सदस्यले पनि राम्रो साथ दिएका छन् ।

व्यावसाय सुरु गर्दा आर्थिकस्थिति कमजोर थियो । फर्म दर्ता गर्नसमेत उहाँसँग पैसा थिएन । ‘पढ्ने इच्छा हुँदाहुँदै आर्थिक स्थिति कमजोर भएकैले बिचमै पढाइ छोड्नु परेको थियो,’ उनले विगत सम्झिँदै भने । बेतबाँसको उद्योग सुरु गर्नुको कारण भने रोचक छ । उनी सानैदेखि पुस्तक अध्ययन गर्न रुचाउथे । एकदिन उद्यमशीलता सम्बन्धी पुस्तक पाए ।

सो पुस्तकमा तीन ‘ज’का बारेमा उल्लेख गरिएको थियो । अझै उनले तीन ‘ज’को अर्थ बिएका छैनन् । पहिलो ‘ज’को अर्थ आफुसंँग ‘जे’ छ (उपलब्धि सामग्री) त्यहीँबाट व्यावसाय सुरु गर्नुहोस् । दोस्रो आफ्सँग ‘जति’ छ (रुपैयाँ) त्यतिबाट सुरु गर्नुहोस् र तेश्रो चाहीँ आफू ‘जहाँ’ (स्थान–ठाउँ) हुनुहुन्छ त्यहीबाट व्यवसाय सुरु गर्नुहोस् भन्ने लेखिएको थियो ।

त्यही लेखबाट प्रेरित भई उहाँले व्यावसाय शुरु गरे । उनीसँग व्यवसाय सुरु गर्ने पैसा समेत थिएन । रु दुई हजार ५०० रकम सापटी मागेर सोही रकमबाट टीकापुरको सतीबाट बेतबाँस खरिद गरी विभिन्न सामाग्री बनाउन थाले । त्यसपछि २०७५ साल मङ्सिरमा धनगढीस्थित घरेलु कार्यालय फर्म दर्ता गरे । त्यसयता उनले व्यावसायलाई निरतन्तरता दिँदै आएका छन् ।

सुरुका दिनमा बेतबाट निर्मित सामग्रीले बजार पाएन । तर विस्तारै बजारमा सामान बिक्री हुन थाल्यो । अहिले भने यसको माग बढ्दो छ । यही व्यवसायबाट उनले पाँच जनाको परिवार धानिरहेका छन् । एक छोरा र दुई छोरी विद्यालय पढाइरहेका छन् । उनले बेतबाट हेङगर, फूलदानी, पिर्का, झुला, चुरादानी लगायतका सामाग्री बनाउँछन् ।

‘धनगढीमा कैलाली, कञ्चनपुर लगायत सुदुरपश्चिम प्रदेशका नौ वटै जिल्लाका मानिस आवतजावत गर्दछन्,’ उनी भन्छन्, ‘यसरी विभिन्न जिल्लाबाट धनगढी आउने ग्राहकहरुले घरायसी प्रयोजनका लागि मेरो उद्योगबाट बेतका सामग्री खरिद गरी लाने गर्नुहुन्छ ।’ उनले मासिक रुपमा रु ६० हजार बराबरको व्यापार हुने बताए । बिक्री भएको सामाग्रीबाट ३५ देखि ४० प्रतिशत फाइदा हुने उनको भनाई छ । कमाउनका लागि विदेश जानैपर्छ भन्नेका लागि उनी अहिले प्रेरणाको स्रोत बनेका छन् ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १८:४८