सूचनाको शक्ति - The Power Of Information

        

तीन दशकदेखि घडियालसँग ‘प्रेम’को प्रेम

लोप भएको झण्डै चार दशकपछि शनिबार चितवन राष्ट्रिय निकुञ्जबाट ल्याइएका २५ वटा घडियाल गोही शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको चौधर नदीमा पुनःस्थापना गर्दा तीन दशक लामो घडियाल संरक्षणमा सक्रिय ५८ वर्षीय प्रेम शर्मा अग्रपङ्क्तिमा छन् ।

चौधर नदीमा गोही पुनःस्थापनको तयारी निकुञ्ज प्रशासनले गरिरहँदा नदीमा गोही छाड्ने क्रममा भने चितवनका प्रेम शर्मालाई अनुभवी व्यक्ति भन्दै सो कार्यमा अघि सारिएको थियो । जनप्रतिनिधि, स्थानीय प्रशासन र निकुञ्ज प्रशासनको रोहबरमा गोही छाड्ने काम शर्माले क्रमशः सावधानीपूर्वक केही समयमै पूरा गरे ।

५८ वर्षीय शर्मा घडियाल गोही स्थानान्तरणमा खटिएको यो पहिलो पटक भने होइन । चितवनस्थित घडियाल संरक्षण तथा प्रजनन केन्द्रमा विगत ३१ वर्षदेखि गोहीको संरक्षण एवं सम्वर्द्धनमा खटिएका शर्माले आफ्नो जीवनको स्वर्णीम समय त्यसैमा खर्चिएको अनुभव सुनाए ।

‘घडियाल स्थानान्तरणका क्रममा कहिलेकाही सामान्य चोटपटक व्यहोर्नुपरेको छ,’ उनले भने, ‘वन्यजन्तु र लोपोन्मुख प्रजातिसँग दशकौँ बिताउनु सामान्य कुरो होइन, मैले त झन जीवन नै घडियाल संरक्षणमा बिताएँ ।’ चितवन महानगरपालिका–५ का स्थायीय शर्मा माझी (कार्यालय सहयोगी) पदमा अहिलेसम्म करारमा कार्यरत छन् ।

‘घडियाल स्थान्तरणका क्रममा बबई, नारायणीको विभिन्न ठाउँमा पुगेको छु,’ उनले भने, ‘अहिलेसम्म आफैँ भएर सयौँ गोही स्थानान्तरणमा खटिएको छु ।’ घडियाल संरक्षण एवं सो सम्बन्धी तालिम लिन चीनसम्म पुगेका शर्माले अन्यभन्दा आफूहरुको व्यवस्थापन सशक्त भएको बताए ।
‘घडियाल संरक्षणमा सफल भए पनि ३१ वर्षसम्म स्थायी नहुँदा आफ्नो व्यक्तिगत जीवनमा पछि परेको आभास हुन्छ,’ उनले भने, ‘स्थायीका लागि पटकपटक पहल भयो तर कार्यान्वयन भएन, अब जागिरबाट निस्किँदा जस्तो आए, त्यस्तै जाने भइयो ।’

घडियाल गोहीको संरक्षण र त्यसको सङ्ख्या वृद्धि गर्ने उद्देश्यले स्थापना गरिएको प्रजनन केन्द्रकै कारण पर्या–पर्यटनमासमेत सहयोग पुगेको उनको भनाइ छ । ‘लोप हुँदै गएको घडियाललाई जोगाउन पनि चुनौतीपूर्ण छ,’ शर्माले भने, ‘अहिले राप्तीमै बढी सङ्ख्यामा छन् ।’

शर्माले इकोसिष्टमलाई सन्तुलनमा राख्न घडियालको ठूलो भूमिका हुने गरेको बताउँदै प्रदूषित पानीमा घडियाल बस्न नरुचाउने गरेको जानकारी दिए । ‘जहाँ पानी प्रदूषित हुन्छ त्यहाँ घडियाल बस्दैन,’ उनले भने, ‘बग्ने पानी जहाँ घडियाल बस्छ त्यो पानी पिउन योग्य छ भनेर बुझ्दा पनि हुन्छ ।’

बासस्थान प्रदूषित हुँदै जाँदा नै घडियालको अस्तित्व सङ्कटमा परेको उनको भनाइ छ । ‘चितवनको प्रजनन केन्द्र रहँदासम्म घडियालको संरक्षण र सङ्ख्या वृद्धि हँुदै जानेछ,’ शर्माले भने, ‘यदि त्यो बन्द भयो भने पाँच–सात वर्षमा घडियाल अझ सङ्कटमा पर्नेमा शङ्का छैन ।’ उनले आफूले सेवाभावले नै घडियाल संरक्षणमा लामो समयदेखि काम गर्दै आएको बताए । शर्माले सरकारले पनि घडियाल गोही संरक्षणमा सक्ने सहयोग र पहल गरिरहेको बताए ।

सन् १९५० सम्म नेपाल, भारत, भूटान, पाकिस्तानका नदीमा घडियाल प्रशस्तमात्रामा पाइने गरेको भए पनि अहिले यो प्रजाति सङ्कटापन्न अवस्थामा छ । मानवीय चाप तथा सहरीकरण, औद्योगिकीरणबाट सिर्जित प्रदूषण लगायत कारणबाट यो प्रजाति लोप हुन पुगेको हो । घडियाल संरक्षणका लागि चितवन राष्ट्रिय निकुञ्जको कसरामा विसं २०३५ मा स्थापना भएको हो । यहाँ रहेका घडियालले विसं २०५१ यता निरन्तररुपमा बच्चा कोरली रहेका छन् ।

स्रोत : रासस
प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १३:५७