सूचनाको शक्ति - The Power Of Information

        

२२ हजार हेक्टर जमिनमा सिक्टाको सिँचाइ सुविधा

निर्माणाधीन सिक्टा सिँचाइबाट बाँके जिल्लाको २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । ४२ हजार ७६६ हेक्टर जमिनमा सिँचाइका लागि पानी उपलब्ध गराउने लक्ष्यका साथ आर्थिक वर्ष २०६२–०६३ मा सरकारको स्रोतबाट निर्माण सुरु भएको आयोजनाले हालसम्म लक्ष्यको आधा प्रगति हासिल गरेको आयोजना कार्यालयले जनाएको छ ।

आर्थिक वर्ष २०८०–०८१ को फागुन मसान्तसम्म पश्चिमी मूल नहरतर्फ १७ हजार हेक्टर, सिधनिया शाखामा एक हजार हेक्टर र पूर्वी मूल नहरतर्फ चार हजार हेक्टर गरी २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी डिभिजनल इञ्जिनियर सन्देश पौडेलले जानकारी दिए ।

‘आयोजनाको निर्माणाधीन पश्चिमी मूल नहरले बाँकेको राप्ती नदी पश्चिम भेगको ३३ हजार ७६६ हेक्टर र पूर्वी मूल नहरले राप्ती नदी पूर्वी भेगको करिब नौ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य छ,’ सूचना अधिकारी पौडेलले भने, ‘आयोजना सुरु भएदेखि हालसम्म समष्टिगत भौतिक प्रगति ४० दशमलव २२ प्रतिशत र वित्तिय प्रगति ३९ दशमलव ३८ प्रतिशत रहेको छ ।’

चालु आर्थिक वर्षको फागुन मसान्तसम्म आयोजनाले पुँजीगततर्फ विनियोजित बजेटको ४० दशमलव १० प्रतिशत वित्तिय प्रगति गरेको छ । विनियोजित रू ७५ करोड ४८ लाखमध्ये फागुन मसान्तसम्म रू ३० करोड २६ लाख ३२ हजार खर्च भएको इञ्जिनियर पौडेलले बताए । ‘चालु आवमा आयोजनाको पूर्वी मूलनहरको बाँकी काम गर्न ठेक्का व्यवस्थापनका लागि पूर्वतयारी हुँदैछ,’ उनले भने ।

उनका अनुसार पश्चिमी मूल नहरतर्फका प्रसेनीपुर, अकलघरुवा र गोहवा शाखाको ठेक्का सम्झौता भई निर्माण सुरु गर्ने, गुरुवागाउँ शाखा अन्तर्गत नहर निर्माण, जग्गा अधिग्रहण सम्बन्धी काम र अन्य शाखाको ठेक्का व्यवस्थापन लगायत पूर्वतयारीको काम सुरु हुनेछ । बाँकेको राप्तीसोनारी गाउँपालिका–२ अगैयास्थित राप्ती नदीमा बाँध निर्माण गरी जिल्लाको खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुर्याउन आयोजना निर्माण गरिएको आयोजनाका निर्देशक देवराज निरौलाले बताए ।

राष्ट्रिय गौरवको आयोजनाका रुपमा आर्थिक वर्ष २०६२–०६३ मा सुरु भएको आयोजना संशोधित गुरुयोजना अनुसार आर्थिक वर्ष २०८९–०९० मा सम्पन्न गर्ने लक्ष्य रहेको आयोजना निर्देशक निरौलाले जानकारी दिए । उनका अनुसार संशोधित गुरुयोजना अनुसार आयोजनाको लागत रू ५२ अर्ब ८९ करोड रहेको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार १३:५०

लोकप्रिय