सूचनाको शक्ति - The Power Of Information

        

भारतले दिन थाल्यो ‘हिन्दु शरणार्थी’लाई भारतीय नागरिकता

भारतले नागरिकता संशोधन ऐन (सीएए)को अधिसूचना जारी भएपछि देशमा रहेका विदेशी गैर–मुस्लिम शरणार्थीहरूलाई नागरिकता दिन शुरु गरेको छ । यसै सिलसिलामा गुजरातमा बस्ने १८ शरणार्थीलाई शनिबार भारतीय नागरिकता दिइएको छ ।

यी सबै शरणार्थीहरू हिन्दू हुन् र पाकिस्तानबाट भारत आएका हुन् । अहमदाबाद, गुजरातमा बसोबास गर्ने पाकिस्तानका यी १८ हिन्दू शरणार्थीहरूलाई शनिबार एक शिविरमा भारतीय नागरिकता प्रदान गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सो नागरिकता वितरण शिविरमा गृह राज्यमन्त्री हर्ष सांघवी पनि सहभागी थिए ।

ती शरणार्थीलाई भारतीय नागरिकता प्रदान गरेपछि एक आधिकारिक प्रेस विज्ञप्ति जारी गरिएको थियो, जस अनुसार अल्पसंख्यक समुदायका मानिसहरूलाई भारतीय नागरिकता प्रदान गर्न राज्यको अहमदाबाद, गान्धीनगर र कच्छका जिल्ला कलेक्टरहरूलाई २०१६ र २०१८ को राजपत्र सूचनाहरू जारी गरिएको थियो ।

पाकिस्तान, अफगानिस्तान र बंगलादेशका गैर हिन्दु शरणार्थीलाइ भारतले नागरिकता दिने अधिकार दिलाएको छ । विज्ञप्तिमा भनिएको छ, ‘यससँगै अहमदाबाद जिल्लामा बसोबास गर्ने पाकिस्तानबाट आएका कुल एक हजार १६७ हिन्दू शरणार्थीलाई अहिलेसम्म भारतीय नागरिकता दिइएको छ ।’

जिल्ला कलेक्टरको कार्यालयमा आयोजित शिविरमा संघवीले शरणार्थीहरूलाई भारतीय नागरिकता प्रदान गर्दै नयाँ भारतको सपना साकार पार्न मिलेर काम गर्न आग्रह गरेका छन् । उनले भने, ‘देशको विकास यात्रामा सबैको सहभागिता रहने दृढ संकल्प छ भन्ने आशा छ ।’

संघवीले भारतीय नागरिकता पाएका सबैलाई समाजको मूलधारमा ल्याउन केन्द्र र राज्य सरकार प्रतिबद्ध रहेको बताए । प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले अफगानिस्तान, पाकिस्तान र बंगलादेशका उत्पीडित अल्पसंख्यकहरूलाई सजिलै र छिटो भारतीय नागरिकता उपलब्ध गराउन विशेष प्रयास गरेको उनले बताए ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार ११:३४

लोकप्रिय