सूचनाको शक्ति - The Power Of Information

        

भारतीय लोकसभा चुनाव सात चरणमा, ८० वर्षमाथिकाले घरबाटै भोट हाल्ने

यस वर्ष भारतमा हुन गइरहेको लोकसभा चुनाव सात चरणमा हुने भएको छ । शनिबार भारतीय निर्वाचन आयोगले पत्रकार सम्मेलन आयोजना गरी सात चरणमा लोकसभा चुनाव गरिने जानकारी दिएको हो ।

आयोगका अनुसार अप्रिल १९ (७ वैशाख)मा पहिलो चरणको चुनाव हुनेछ भने जुन १ मा अन्तिम चरणको चुनाव हुनेछ । दोस्रो चरण अप्रिल २६, मे ७ मा तेस्रो चरण, चौथो चरण मे १३ मा, पाँचौ चरण मे १९ र छैठौं चरणको मतदान मे २५ मा हुनेछ । विद्युतीय प्रणालीबाट हुने मतगणना जुन ४ बाट सुरु हुनेछ ।

पहिलो चरणमा १०२, दोस्रोमा ८९, तेस्रोमा ९४, चौथोमा ९६, पाँचौँमा ४९, छैठौँमा ५७ र सातौँ चरणमा ५७ सिटका लागि मतदान हुने आयोगले जानकारी दिएको छ । भारतीय लोकसभामा ५४३ सिट छन् । लोकसभाको पाँच वर्षे कार्यकाल मे महिनामा पूरा हुँदैछ ।

लोकसभा चुनावसँगै आन्ध्र प्रदेश, उडिशा, अरुणाचल प्रदेश र सिक्किममा विधानसभा चुनाव हुँदैछ । त्यस्तै, देशभरका विधानसभामा रिक्त रहेका २६ सिटमा उपनिर्वाचन पनि यही अवधिमा गराइने मुख्य आयुक्त राजीव कुमारले जानकारी दिएका छन् । घरबाट नै मतदान गर्न चाहने ८५ वर्षभन्दा माथिका मतदाताका लागि सोही अनुसारको व्यवस्था गरिने आयोगको भनाइ छ ।

यस्तै ४० प्रतिशत शारीरिक अशक्तता भएका व्यक्तिलाई पनि यो सुविधा दिइने उनले बताए । लोकसभा चुनावका लागि योग्य मतदाताको संख्या ९६ करोड ८८ लाख २१ हजार ९२६ छ । ४९ करोड ७ लाख पुरुष र ४७ करोड १ लाख महिला मतदाता छन् । देशभरका साढे १० लाख मतदान केन्द्रमा ५५ लाख एलेक्ट्रोनिक भोटिङ मेसिनबाट मतदान कार्यक्रम सञ्चालन गर्ने आयोगले जानकारी दिएको छ ।

प्रकाशित मिति : ४ चैत्र २०८०, आइतवार ०९:०४

लोकप्रिय