सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा म्याद गुज्रेका सामान छ्यापछ्याप्ती

जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाका प्रमुख बजारहरूको अनुगमनलाई निरन्तर जारी राखेको छ । प्रशासनले बजार अनुगमनलाई निरन्तर जारी राखेको थाहा पाउँदा पाउँदैपनि बजारमा म्याद नाघेका सामग्रीहरू छ्यापछ्याप्ती राखिएका छन् ।

पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय बाँकेको बजार अनुगमन समितिले बाँकेको बैजनाथ गाउँपालिकाको चिसापानीका पसलहरूमा अनुगमन गर्दा म्याद गुज्रेका सामानहरू व्यापक मात्रामा भेटिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बजार अनुगमनका क्रममा चिसापानीका अधिकांश पसलमा रहेका दैनिक उपभोग्य सामग्री म्याद गुज्रेको भेटिएको हुँदा नष्ट गरिएको बताउनुभयो ।

उहाँले चिसापानी क्षेत्रका १२ वटा पसलहरूमा अनुगमन गर्दा चार वटा पसलमा म्याद गुज्रेको सामान पाइएकाले ती सामान नियन्त्रणमा लिएर नष्ट गरिएको बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेका अनुसार, चिसापानीको भेरी कर्णाली किराना स्टोरमा म्याद ग्रजिएको ७० लिटर कोल्ड ड्रिंक्स र भुजिया २६ प्याकेट गरेर सात हजार २६० रुपियाँ मूल्य बराबरको सामान र सम्राट् एन्ड लक्की किराना पसलमा म्याद गुज्रेको दुई हजार मूल्य बराबरको १५ प्याकेट सोन पापडी मिठाई भेटिएको थियो ।

सोही प्रकारले दीपक किराना पसलमा एक हजार पाँच सय मूल्य बराबरको म्याद गुज्रेको १५ लिटर कोल्ड ड्रिंक्स र विवेक किराना स्टोरमा म्याद गुज्रेको दुई लिटर जुस चार सय मूल्य बराबरको भेटिएको थियो । म्याद गुज्रेका ती सबै सामानहरू नष्ट गरिएको बाँके प्रशासनले जनाएको छ ।

म्याद गुज्रिएका सामान फेला परेका पसल र अन्य पसल व्यवसायीलाई पनि म्याद गुज्रेका, सडेगलेका, अखाद्य सामग्री पसलमा नराख्न कडा चेतावनी दिइएको बाँकेका प्रजिअ पोखरेलले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेको नेतृत्वमा विभिन्न सरोकारवाला निकायहरू समेतको सहभागितामा बैजनाथ गाउँपालिकाको चिसापानी क्षेत्रमा बजार अनुगमन गरिएको थियो । यो बजार अनुगमन फरक फरक स्थानमा निरन्तर जारी रहने जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

स्रोत : गाेरखापत्र दैनिक
प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १८:२२

लोकप्रिय