सूचनाको शक्ति - The Power Of Information

        

लाइटर र खुर्सानी बोकेको ट्रकमा आगलागी

कैलालीको चिसापानीस्थित कर्णाली पुलमा गुडिरहेको ट्रकमाथि आगलागी भएको हप्ता दिन नबित्दै सोही प्रकृतिको घटना भएको छ । शनिबार दिउँसो पूर्वपश्चिम राजमार्ग अन्तरगत बर्दगोरिया गाउँपालिका–४ मुडामा बिरगञ्जबाट लाइटर, खुर्सानी र बच्चाको डाइपर बोकेर धनगढीतर्फ आइरहेको प्रदेश ३ ०३००१ ख ००१२ नम्बरको ट्रकमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले ट्रकको आगलागी नियन्त्रणमा आएको बताए । प्रहरी निरीक्षक लिलाराम आचार्यको नेतृत्वमा खटिएको प्रहरी टोली, घोडाघोडी नगरपालिका र लम्कीचुहा नगरपालिकाबाट गएको दमकलले आगो नियन्त्रणमा लिएको उनले बताए ।

क्षतिको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । यसअघि सोमबार पनि कर्णाली पुलमाथि गुडिरहेको अवस्थामा एक्कासि ट्रकमा आगो लागेको थियो । उक्त आगोले पुलमा समेत क्षति पुगाएपछि सवारीसाधन आवागमन बन्द गरेर मर्मत सम्भारको काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १७:३०

लोकप्रिय