सूचनाको शक्ति - The Power Of Information

        

जाजरकोट भूकम्प : रुकुम पश्चिममा ३० हजार अस्थायी आवास निर्माण

गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको भूकम्पले क्षति पुर्याएको रुकुम पश्चिममा अस्थायी आवास निर्माण भइरहेका छन् । भूकम्प गएको पाँच महिनामा भूकम्पपीडितको अस्थायी आवास निर्माणको काम अन्तिम चरण पुगेको छ ।

सो अवधिमा जिल्लाभर २९ हजार ७६४ अस्थायी आवास निर्माण सम्पन्न भएका सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवालले जानकारी दिए । उनका अनुसार जिल्लाभर दुई हजार १९२ अस्थायी आवास निर्माणको चरणमा रहेका छन् ।

जिल्लामा हालसम्म सबैभन्दा बढी आठबीसकोट नगरपालिकामा नौ हजार ८३ र सबैभन्दा कम मुसिकोट नगरपालिकामा ९६६ अस्थायी आवास निर्माण भएका सहायक प्रमुख जिल्ला अधिकारी बढुवालले जानकारी दिए ।

चौरजहारी नगरपालिकामा छ हजार ६६८, सानीभेरी गाउँपालिकामा पाँच हजार ७२१, त्रिवेणीमा चार हजार ३३३ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै दुई हजार ९९३ अस्थायी आवास निर्माण सम्पन्न भएको सहायक प्रजिअ बढुवालले जानकारी दिए ।

हालसम्म जिल्ला विपद् व्यवस्थापन कोषबाट ३१ हजार ३०० लाभग्राहीका लागि स्थानीय विपद् न्यूनीकरण कोषमा रु २५ हजारका दरले रु ७८ करोड २५ लाख रकम पठाइएको छ । स्थानीय विपद् कोषबाट भने ३० हजार ८४१ लाभग्राहीले रु २५ हजारका दरले रु ७७ करोड १० लाख २५ हजार रकम प्राप्त गरेका छन् ।

अब जिल्लामा पहिचान भएका ३५९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता पाउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १७:०२

लोकप्रिय