सूचनाको शक्ति - The Power Of Information

        

कस्तो हुनुपर्छ न्यायाधीश ?

न्यायालयका ईश्वर : ‘जसले न्यायालयको शिर झुक्न दिएनन्’

तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक गरेको संसद् विघटनमा संसद् पुनः स्थापनाको फैसला हुँदा खतिवडाको नेतृत्वदायी भूमिका थियो । संसद् विघटन मुद्दामा खतिवडाले लेखेको फैसला आगामी दिनका लागि ‘ल्याण्ड मार्क’ हुनेछ ।

चोलेन्द्रशम्शेर राणाले ध्वस्त पारेको न्यायालयमा सबै चोलेन्द्र प्रवृत्तिका न्यायाधीश मात्र छन् भन्ने होइन, न्यायाधीश कस्तो हुनुपर्छ भन्ने उदाहरणीय न्यायाधीशहरू पनि छन् । जसबाट शिक्षा मात्रै लिन सके पनि न्यायालय सुधारको बाटोमा उन्मुख हुनसक्छ । त्यही आशा जगाउँदै न्यायाधीश ईश्वर खतिवडा सर्वोच्चबाट बिदा भएका छन् । केही अपवादबाहेक सर्वोच्चमा ईश्वरजस्तै न्यायाधीशहरू पनि छन् । तिनको परीक्षा हुनै बाँकी छ ।

सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश तथा न्यायपरिषद् सदस्य खतिवडा ६५ वर्षे उमेर हदका कारण अघिल्लो विहीबारदेखि सेवानिवृत्त भए । सबैले उनको प्रशंसा गरे । त्यो भन्दा अगाडि यस्तै प्रशंसा पाउनेमा न्यायाधीश अनिलकुमार सिन्हा थिए । न्यायपालिकाको नेतृत्व नलिए पनि खतिवडा एक काबिल न्यायाधीशका रुपमा न्याय सम्पादन गरेर घर फर्केका छन् । उनले सर्वोच्च अदालतमा केवल सात वर्ष सात महिना मात्र बिताए । उनले अदालतमा पुगेका सबै विवादमा उत्कृष्ट फैसला गरेका छन् ।

आचरणगत विवादमा नपरी बिदाइ हुनु उनी र न्यायका लागि पनि विशेष उपलब्धि रह्यो । न्यायाधीशका रुपमा खतिवडाले संवैधानिक, देवानी, फौजदारी, मानवअधिकारका क्षेत्रमा थुप्रै नजिर, व्याख्या र दृष्टान्तहरू न्यायालयलाई सम्पत्तिका रुपमा दिएर गएका छन् । जुन भावी पुस्ताका लागि पनि प्रेरणा हुनेछ । तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक गरेको संसद् विघटनमा संसद् पुनः स्थापनाको फैसला हुँदा खतिवडाको नेतृत्वदायी भूमिका थियो । संसद् विघटन मुद्दामा खतिवडाले लेखेको फैसला आगामी दिनका लागि ‘ल्याण्ड मार्क’ हुनेछ ।

प्रतिनिधिसभा विघटनको मात्र नभै राष्ट्रपतिको अधिकार र क्षेत्राधिकार, पशु अधिकारका लागि गढीमाई मेलामा बलि निषेध, तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की र राष्ट्रियसभा सदस्य वामदेव गौतमको योग्यता लगायत फैसलामा महत्त्वपूर्ण नजिर बस्ने गरी खतिवडासहितको विशेष ‘बेञ्च’बाट फैसला भएको छ । लोकतन्त्रमा व्यक्ति होइन, विधि र पद्धति महत्त्वपूर्ण हुने मान्यता उनले स्थापित गरिदिएका छन् । लोकमानसिंह कार्कीको मुद्दामा संवैधानिक पदमा नियुक्ति हुने व्यक्तिहरूको नैतिकता महत्त्वपूर्ण हुने व्याख्यासहित फैसला लेखिएको छ ।

साथै, शक्तिको चरम दुरुपयोग गरिरहेका कार्कीलाई हटाइएको मात्र नभै नियुक्ति गर्ने दलहरू र भविष्यको नियुक्तिका लागि मानक हुने गरी व्याख्या गरिएको छ । कोरोना त्रासदीका कारण न्याय सम्पादनमा परेको संवैधानिक अप्ठ्यारो फुकाउन पनि खतिवडाको महत्त्वपूर्ण भूमिका छ । बन्दाबन्दीको संकटपूर्ण क्षणमा मुद्दा सुनुवाइ, ‘हद म्याद’लाई खुकुलो पार्ने, पेशी तारिख व्यवस्थापन, बहस व्यवस्थापन, कानुनी रिक्तताको गाँठो फुकाउने जस्ता सन्दर्भमा समेत खतिवडाको योगदान थियो ।

बन्दाबन्दी पूर्ण रूपमा अन्त्य नभसम्मको अवधि कानुनी रूपमा ‘शून्य समय’ हुने गरी सर्वोच्चबाट आदेश जारी भएको थियो । सर्वोच्च अदालतका सबै न्यायाधीश संलग्न भएर गरेको त्यो ऐतिहासिक निर्णयको फैसला न्यायाधीश खतिवडाले लेखेका थिए । पछिल्लो पटक खतिवडा सहितको इजलासले नै बाँकेका योगेश ढकाल ‘रिगल’लाई उन्मुक्ति दिने मन्त्रिपरिषद्को निर्णय उल्ट्याउने फैसला गरेको थियो । कर्तव्य ज्यान मुद्दामा आधा सजाय भुक्तान गरेका रिगललाई संविधान दिवसको दिन राष्ट्रपतिबाट बाँकी कैद मिनाहा गरिएको थियो ।

उक्त निर्णय उल्टिएपछि रिगलको फेरी जेलतर्फको यात्रा सुनिश्चित भएको थियो भने पीडित परिवारले न्याय पाएका थिए । कोशी प्रदेशको मुख्यमन्त्री नियुक्ति विवादमा पनि खतिवडा संलग्न बेञ्चले नै फैसला गरेको हो । उक्त फैसलामा कोशीका सभामुखको निष्पक्ष भूमिकाको विषयमा गहन व्याख्या गरिएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद खारेज, केपी ओलीको शैलीमा अध्यादेश ल्याउने देउवा शेरबहादुर देउवा नेतृत्वको सरकारको निर्णय उल्ट्याउने फैसला पनि न्यायाधीश खतिवडा संलग्न इजलासबाट भएको छ ।

उनले फौजदारी र देवानीतर्फ पनि अनगिन्ती नजिर कायम हुने गरी फैसला गरेका छन् । ती फैसला भविष्यमा न्यायालयका लागि अध्ययन र अभ्यासमा काम लाग्ने छन् । न्यायिक निष्ठा र इमानमा सम्झौता नगर्ने न्यायाधीशका रुपमा उनी बिदा भए । सर्वोच्च अदालतको गरिमा बढाउने काम गरेर अवकाश पाए । न्यायालयमा खतिवडाको अभाव सधैँ खट्किने छ । खतिवडा २०३९ सालमा सरकारी वकिलबाट सेवा प्रवेश गरेका हुन् । उनी २०४९ सालमा जिल्ला न्यायाधीश बनेका थिए । झन्डै ९ वर्ष पुनरावेदन अदालतको न्यायाधीश र दुई मुख्य न्यायाधीश भएका थिए ।

२०७३ सालमा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भए । यसरी ४१ वर्ष न्याय सेवामा बिताएका खतिवडा विरलै मात्र विवादमा परेका होलान् । खतिवडा २०५० सालमा मदन भण्डारी र जीवराज आश्रितको मृत्यु भएको दासढुंगा दुर्घटना र २०५८ सालमा पूर्व राजा वीरेन्द्र शाहको वंश नास हुने गरी भएको हत्याकाण्डको अनुसन्धानमा सहयोगी भूमिकामा थिए । योग्यता र क्षमताका कारण नै सायद खतिवडालाई छानबिनमा सहयोगीका रुपमा लगिएको थियो । निर्भीक, खरो स्वभावका खतिवडाले वास्तवमा नैतिकताको सवालमा कहीँ नचुक्ने व्यक्तित्वको छवि बनाएर गए । त्यसैले उनलाई सबैले ‘न्यायालयका ईश्वर’ भनेर चिन्नेछन् ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १६:४७