सूचनाको शक्ति - The Power Of Information

        

सुन प्रकरणका आरोपी माओवादी नेताहरू कहिले उभिएलान् कठघरामा ?

जतिबेला नन्दबहादुर पुन उपराष्ट्रपति पदमा बहाल थिए त्यतिबेला उनका छोरा तथा सचिवालयमा रहेका व्यक्तिहरु सुन तस्करीमा जोडिएका थिए भन्ने अनुसन्धानमा देखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) होस् वा भन्सार कार्यालयले गरेका सबै अनुसन्धानमा उनको सचिवालयमा रहेका व्यक्ति र छोराहरु संलग्न रहेका प्रतिवेदनहरु आएका छन् ।

सरकारी वकिल कार्यालयमा पठाइएका व्यक्तिहरुले पनि आफू नन्दबहादुर पुनको सचिवालयमा रहेर काम गरेको बयानसमेत दिइसकेका छन् । उनका छोराद्वय जितेन्द्र पुन र दिपेश पुन तथा सचिवालयमा कार्यरत जीवन गुरुङ यसका उदाहरण हुन् । सुनको अवैध पैठारी तस्करीबारे अनुसन्धान गर्न बनेको जाँचबुझ आयोगले प्रहरीका एआईजीसहित केही प्रहरी कर्मचारीलाई अनुसन्धानमा त्रुटि गरेको भन्दै विभागीय कारबाहीको सिफारिस गरेसँगै गृह मन्त्रालयले उनीहरुलाई सरुवा गरिसकेको छ ।

तर आरोपित राजनीतिक नेतृत्व भने अहिलेसम्म खुला रुपमा हिँडिरहेका छन् । सहकारी ठगी तथा सुन तस्करी प्रकरणमा जोडिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश शुक्रबार साँझ पक्राउ परे पनि उनलाई सहकारी ठगीमा अनुसन्धान गर्न भन्दै रुपन्देही लगियो । उपराष्ट्रपतिका तत्कालीन सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध १३८ केजी सुन तस्करी प्रकरणमा मुद्दा दायर भयो  । योभन्दा उच्चस्तरबाट सुन तस्करलाई संरक्षण गर्ने पूर्वसभामुख तथा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरामाथि के कारबाही हुन्छ भन्ने प्रश्न बाँकी नै छ ।

साथै आफ्नै दुई छोरा, सचिवालयमा रहेका व्यक्ति जोडिँदा पनि नन्दबहादुर पुनलाई भने अहिलेसम्म सरकारले केही सोधेको छैन । उनले पनि कुनै स्पष्टीकरण दिएका छैनन् । जीबी राई अध्यक्ष र दीपेश पुन कोषाध्यक्ष रहेको सुप्रिम सहकारीको बचत रकम हिनामिना गरेका थिए । बुटवलका १० हजार बचतकर्ताको साढे ७८ करोड हिनामिना प्रकरणमा पनि दीपेश जोडिएका छन् । उनी माओवादी केन्द्रका विशेष प्रदेश कमिटीका सदस्य तथा अखिल क्रान्तिकारीका महासचिव हुन् ।

पुनका अर्का छोरा जितेन्द्र पनि सुन तस्करीमा रहेको पाइएको छ । जितेन्द्र नेपालमा छैनन् । बेल्जियमका नागरिकसँग विशेष सम्बन्ध भएका जितेन्द्र आठ महिनाअघि नै अमेरिका गएका छन् । पक्राउ परेका दीपेशलाई भने सहकारीको बचत रकम हिनामिनाको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुन तस्करीमासमेत अनुसन्धान के गर्ने प्रहरीको कुनै भनाइ छैन । चिनियाँ सुन तस्करसँग संलग्नता देखिए पनि पुनले यसअघि प्रहरी अनुसन्धानबाट उन्मुक्ति पाएर प्रतिवादीसमेत बनाइएको थिएन ।

आठ करोड ५५ लाखको सुन तस्करी तथा बेचबिखनमा महरा बाबुछोरा संलग्न भएको भनेर प्रहरीको विशेष अनुसन्धान ब्युरो (सीआईबी) को प्रतिवेदनमा किटान छ । महरामाथि मुद्दा दर्ता त छैन तर छोरा राहुल भने थुनामा रहेका छन् । जबकि महरा बाबुछोराले चिनियाँ सुन तस्करहरूसँग २५६ पटक टेलिफोन संवाद गरेको कलडिटेल रेकर्ड प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालयले काठमाडौँ जिल्ला अदालतमा पेश गरेको थियो ।

इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन ल्याउने चिनियाँ नागरिक लीसँग व्यक्तिगत रूपमा सम्बन्धमा रहेका महरा बाबुछोराले उनलाई सहयोग पुर्याउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारका अधिकारीलाई तारन्तार फोन गरेको तथ्य फेला परेको थियो । आयोगले भेपमार्फत आएको सुन तस्करीको छानबिन गराउने तत्कालीन भन्सार प्रमुख अरुण पोखरेललाई पनि कारबाहीको सिफारिस गरेको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १३८ किलो सुन तस्करी गरेको आरोपमा पूर्वउपराष्ट्रपति पुनका तत्कालीन सल्लाहकार ‘वैदेशिक मामिला विज्ञ’ जीवनकुमार गुरुङविरुद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दायर भएको छ  । विमानस्थल भन्सार कार्यालयका अनुसार १ अर्ब ४० करोड ५५ लाख ३० हजार बिगो जरिबाना र ५ वर्ष कैद सजाय मागदाबीसहित मुद्दा दर्ता भएको हो । भन्सारले गरेको छानबिन र अनुसन्धानमा भरियाले विमानस्थल हुँदै दुबईलगायत देशबाट तस्करी गरेर ल्याएको सुन गुरुङले बुझिलिने गरेको पाइएको थियो ।

उनी डिल्लीबजारस्थित प्लाटिनम कलेजका कार्यकारी प्रमुखसमेत हुन्  । मंसिर २१ मा १४ किलो सुनसहित विमानस्थलबाट गोरखाका चन्द्र घले पक्राउ परेपछि उक्त सुन ल्याउने ‘योजनाकार’ गुरुङ भएको खुलेको थियो । उनलाई सीआइबीले गत फागुन १४ गते पक्राउ गरेको थियो । पक्राउपछि विमानस्थल भन्सार कार्यालयले गरेको छानबिन र अनुसन्धानमा भरियाले ल्याएको सुन गुरुङले जिम्मा लिएर व्यवस्थापन गरेको खुल्न आएको हो । उक्त सुन तस्करी प्रकरणमा यसअघि ९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ ।

मुद्दा दायर भएकामध्ये ७ जना पुर्पक्षका लागि थुनामा छन् भने २ जना फरार छन । घले समूहले सन् २०१४ देखि नै सुन तस्करी गरेको र पछिल्लो एक वर्षमा मात्रै करिब १३८ किलो सुन तस्करी गरेर नेपाल ल्याएको छानबिनमा क्रममा खुलेको थियो । घले समूहबाटै पुनको सचिवालयमा रहेका गुरुङलाई पक्राउ गरिएको हो । प्रकरणमा मीन घले, चन्द्र घले, कृष्णकुमार श्रेष्ठ, शेरबहादुर बस्नेत, राधाकृष्ण श्रेष्ठ, लेकबहादुर तामाङ, अनिल श्रेष्ठ र रमेश देउला पुर्पक्षका लागि थुनामा छन् भने दनबहादुर गुरुङ र बिना गुरुङ फरार छन् ।

उनीहरूलाई पनि जीवनकुमार गुरुङले परिचालन गर्ने गरेको भन्सार कार्यालयले जनाएको छ । यता अर्थमन्त्री वर्षमान पुनको सचिवालयमा रहेका जीवन रोका, अर्का एक दिनेश रोकालाई पनि शंकाको सूचीमा राखेर अनुसन्धान गर्नुपर्ने भए पनि अहिलेसम्म उनीहरुलाई केही गरिएको छैन । वर्षमान पुनका आफ्नै भाइ प्रनिस पुनको सुन कम्पनी रहेको र त्यसमा दावाकी श्रीमती अमला रोकासमेत साझेदार रहेको विषयमा पनि अनुसन्धान हुन सकेको छैन ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १६:२९

लोकप्रिय