सूचनाको शक्ति - The Power Of Information

        

भौतिक पूवार्धारमा अब्बल बन्दै शुक्लाफाँटा

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले घरदैलोमा सेवा उपलब्ध गराउने उद्देश्यले १२ वडामध्ये १० वटामा नयाँ कार्यालय भवन निर्माण गरेको छ । संविधानको मर्मअनुसार वडास्तरबाट नै सर्वसाधारणलाई सहजरुपमा सेवा उपलब्ध गराउनका लागि भौतिक पूर्वाधार निर्माण गरिएको जनाइएको छ ।

नगरपालिकाका भौतिक पूर्वाधार शाखाका प्रमुख इञ्जिनियर दिपक धामीका अनुसार वडा नं १, २, ३, ५, ६, ७, ८, ९, ११ र १२ मा नयाँ भवन निर्माण गरिएका हुन् । वडा नं ४ मा रु एक करोड एक लाखको लागतमा सुदूरपश्चिम प्रदेशको समपूरक र तराई–मधेस समृद्धि कार्यक्रमको साझेदारीमा तीनतले भवन निर्माणका लागि ठेक्का सम्झौता भएको उनले जानकारी दिए ।

हाल उक्त कार्यालयको पुरानो भवनबाट सेवा प्रवाह भइरहेको छ । ‘वडा नं ९ र ६ मा नयाँ भवन निर्माण सम्पन्न भएर सोही भवनबाट सेवा सञ्चालन भइरहेको छ,’ इञ्जिनियर धामीले भने, ‘चाँडै भवन उद्घाटन गर्ने तयारी भइरहेको छ ।’ उनका अनुसार वडा नं २ र ३ मा भवन उद्घाटन भइसकेको छ ।

नयाँ निर्माण भएका भवनमा शौचालय, मिटिङ तथा कार्यालय कक्ष, वडाध्यक्ष र सचिवका छुट्टाछुट्टै कक्ष रहेका धामीले जानकारी दिए । सेवाग्राही बस्नका लागि आवश्यक फर्निचरसँगै विद्युत्, खानेपानीको उचित व्यवस्था गरिएको उनको भनाइ छ ।

‘सेवाग्राहीलाई मालपोत बुझाउन विगतमा नगरपालिका कार्यालयसम्म पुग्नुपर्ने बाध्यता थियो,’ नगर उपप्रमुख कल्पना पन्तले भने, ‘हाल कार्यालयमा इन्टरनेटको व्यवस्था भएकाले वडाबाटै मालपोत बुझाउन सकिने भएको छ ।’ योसँगै पञ्जीकरण तथा भूमि जाँचको काम पनि इन्टेरनेटमार्फत वडाबाट हुने गरेको उहाँले उल्लेख गरे ।

वडा नं १० मा पुरानो नगरपालिका कार्यालय रहेको भवनबाट तत्कालका लागि कार्य सञ्चालनको व्यवस्था गरिएको वडाध्यक्ष लालबहादुर ऐरले बताए । नयाँ भवन निर्माणका लागि पहल भइरहेको उनको भनाइ छ । वडा कार्यालय सुविधा सम्पन्न भए पनि कर्मचारी अभावका कारण सेवा प्रवाहमा समस्या भइरहेको बताइएको छ ।

केही कार्यालयमा सचिव, खरिदार र कम्प्युटर अपरेटर लगायत कर्मचारीको अभाव रहेको नगरपालिका कार्यालयले जनाएको छ । वडा नं ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले भाडाको एउटा कोठाबाट सहज सेवा दिन समस्या भइरहेकामा अहिले प्रभावकारी बन्दै गएको बताए । यसअघि सेवाग्राहीलाई ३८ किसिमका सेवा दिन असहज थियो ।

उनले भने, ‘पहिलो कार्यकालमा नयाँ भवन बनाउन सम्भव नभए पनि दोस्रो कार्यकालमा भवन निर्माणसँगै सेवा सञ्चालन सहज हुँदै गएको छ ।’ वडा कार्यालयका भौतिक संरचना निर्माणसँगै एसियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा नगरपालिकाले मुख्य प्रशासनिक भवनसमेत निर्माण गरी सेवा सञ्चालन गर्दै आएको छ ।

वडामा सहज स्वास्थ्य सेवा प्रवाह गर्ने उद्देश्यले आधारभूत स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । केही वडामा आधारभूत स्वास्थ्य चौकी भवन निर्माण भइसकेका छन् भने केहीमा निर्माणाधीन रहेका नगरपालिकाका भौतिक पूर्वाधार शाखाका प्रमुख इञ्जिनियर धामीले जानकारी दिए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १६:०६

लोकप्रिय