सूचनाको शक्ति - The Power Of Information

        

छोरीको उपचारका लागि सहयोग गरिदिन बुबाको आग्रह

हुम्लाको सिमकोट गाउँपालिका–७ का बल्चित कामीले छोरीको भाँच्चिएको खुट्टाको उपचार गर्न आर्थिक सहयोग गरिदिन आग्रह गरेका छन् । दुई वर्षअघि उनकी ११ वर्षीया छोरी माया विक छतबाट लडेर घाइते भई एउटा खुट्टा भाँच्चिएको थियो ।

घरपरिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचार नपाएकी विकको अहिले भाँच्चिएको खुट्टा बाङ्गिएको छ भने उमेर बढ्दै जाँदा हिँड्डुलमा समस्या हुँदै आएको बुबाले जानकारी दिए । तत्कालीन समयमा उपचारका लागि राम्रो अस्पताल लैजान आर्थिक अभावले नसकिएको भन्दै अहिले छोरी हिड्न नसक्ने र बोल्न पनि नसक्ने भएको बुबाले दुखेसो पोखे ।

मायाको दायाँ खुट्टा भाँच्चिएको थियो । चिकित्सिकले अहिले पनि उपचार सम्भव भएको प्रतिक्रिया दिएकाले उपचारका लागि आर्थिक सहयोगका लागि आह्वान गरिएको बुबा बल्चितले बताए । स्थानीय डाडाफयाँ स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सन्तोष बोहराले सुविधा सम्पन्न हाडजोर्नी सम्बन्धी अस्पतालमा उपचार सम्भव भए पनि आर्थिक अभाव भएकाले बल्चितले छोरीको उपचारकान लागि सहयोग आह्वान गरेका थिए ।

स्वास्थ्यकर्मी बोहराले भने, ‘अहिले पनि मायाको उपचार गर्न सकिन्छ तर खर्च बढी लाग्न सक्छ । विकको खुट्टाको उपचार गर्नका लागि परिवारको आर्थिक अवस्था कमजोर छ ।’ विकका घरपरिवारले अपाङ्ग तथा बालबालिकाको क्षेत्रमा काम गर्ने सङ्घसंस्थालाई छोरीको उपचारका लागि आर्थिक सहयोग माग गरिदिन आग्रह गरेको उनले बताए ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार १३:४६

लोकप्रिय