सूचनाको शक्ति - The Power Of Information

        

स्वास्थ्यमा बरदान

खजुरामा अध्यक्षसँग जेष्ठ नागरिक कार्यक्रम, ‘घरमै स्वास्थ्यकर्मी’

घरबाट स्वास्थ्य कार्यालयसम्म स्वास्थ्य चेकजाँच गर्न जान पनि मुस्किल पर्ने जेष्ठ नागरिकका लागि खजुरा गाउँपालिकाले ल्याएको ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ बरदान सावित बनेको छ ।

खजुरा गाउँपालिका वडा नम्बर ५ का ७५ वर्षिय दिलकुमारी रेग्मी घरमै स्वास्थ्य सेवा पाउँदा हर्सित छिन् । सामान्य उपचार गर्नका लागि दिलकुमारीलाई अस्पतालसम्म जान अप्ठेरो छ । आफ्नो स्वास्थ्य अवस्थाका बारेमा घरमै बुझन र चेकजाँच गर्न स्वास्थ्यकर्मी आएपछि उनले सरकार आँगनमै आएको महसुस गरिन् ।

वडा नम्बर ६ का ७८ वर्षिय सन्तबहादुर सुनारले स्वास्थ्यकर्मीहरु घरमै आएर सेवा गर्छन् भन्ने सोचेका थिएनन् । ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’मार्फत सुनारको घरमै स्वास्थ्यकर्मीको टोली पुगेर उनको सुगर, प्रेसर तथा अन्य चेकजाँचका साथै औषधिसमेत दिएपछि उनी दंग परे । निर्वाचनका बेला मात्र सुनेका आश्वासनका ती शव्दहरु अहिले पुरा भइरहेको सुनारले बताए ।

खजुरा गाउँपालिकाले सुरुमा यो कार्यक्रम ल्याउँदा कतिपयले यो अनावश्यक हो भन्न भ्याए । वडैपिच्छे स्वास्थ्य चौकी छन् । त्यहि जेष्ठ नागरिकलाई सेवा दिए हुन्न ? जसले अनावश्यक भन्दै आएका थिए, उनीहरुकै घरमा स्वास्थ्यकर्मी पुगेर जेष्ठ नागरिकको हेरचार र उपचारमा सहयोग गरेपछि कार्यक्रमको प्रभावकारीताको प्रसंशा हुन थालेको छ ।

घरबाट स्वास्थ्य कार्यालयसम्म स्वास्थ्य चेकजाँच गर्न जान पनि मुस्किल पर्ने जेष्ठ नागरिकका लागि खजुरा गाउँपालिकाले ल्याएको ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ बरदान सावित बनेको छ । घर–घरमै स्वास्थ्य सेवा पुर्याउँछौं भन्ने बाचा जनप्रतिनिधिहरुले पुरा गर्दैछन् । खजुरा गाउँपालिकाले ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ सुरु गरेपछि निर्वाचनका बेला आशा व्यक्त गरिएका कुराहरु पुरा हुँदै गएको पालिकामा रहेका जेष्ठ नागरिकहरु बताउँछन् ।

जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तरगत गत आर्थिक वर्षमा झण्डै दुई हजार जेष्ठ नागरिक तथा अशक्त असहायहरुको सेवा तथा उपचार गरिएको स्वास्थ्य तथा सामाजिक शाखा प्रमुख दिपक ढकालले जानकारी दिए । पालिकाभर दुई हजार ३०० जनालाई सेवा दिइने लक्ष्य रहेको स्वास्थ्य शाखा प्रमुख ढकालले बताए ।

कुनै पनि जेष्ठ नागरिकहरु उपचारबाट बञ्चित नहुन र प्रत्येक जेष्ठ नागरिकको घरदैलोमा जसरी भए पनि पुग्न कर्मचारीलाई दिइएको निर्देशन अनुसार काम भइरहेको खजुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जनाए । खजुरामा स्थानीय तहको निर्वाचनपछिको गाउँपालिकाको पहिलो गाउँसभाले नै ‘जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम’ ल्याएको थियो ।

स्थानीय जेष्ठ नागरिकलाई स्वास्थ्य सेवामा पहुँच पुर्याउने उद्देश्यले ल्याइएको जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अहिले प्रभावकारी बन्दै गएको पाइएको छ । पालिकाले स्वास्थ्यकर्मीसहित प्रत्येक घरघरमा पुगेर ज्येष्ठ नागरिकहरुको सुगर, प्रेसर लगायत स्वास्थ्य परिक्षण गर्दै आवश्यक परामर्शसहित निःशुल्क औषधी वितरण गर्दै आएको छ ।

आफ्नै घरमा निशुल्क सेवासहितको औषधी उपचार पाएपश्चात घण्टौँ हिँडेर स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यताको अन्त्य भएको जेष्ठ नागरिकहरु बताउँछन् । घरआँगनमै स्वास्थ्य उपचार पाएपछि जेष्ठ नागरिकहरुले अहिले स्थानीय सरकार भएको महसुस गरिरहेका छन् । नागरिकहरुको मन जित्न अझै यी र यस्ता प्रकारका नयाँ अभ्यासहरु स्थानीय तहले गर्न सके नागरिकले सिंहदरवारको अधिकार गाउँमै आएको महसुस हुने जेष्ठ नागरिकको भनाई छ ।

स्थानीय सरकारले ६८ वर्ष पुगेका जेष्ठ नागरिक तथा अशक्त नागरिकको घरमै गएर स्वास्थ्यकर्मीहरुले नियमितरुपमा मासिक एकपटक स्वास्थ्य परिक्षणसहित यो कार्यक्रमको सुरुवात भएको हो । यसका लागि खजुरा गाउँपालिकाले ८ जना स्वास्थ्यकर्मीलाई छुट्टै व्यवस्था गरि खटाइएको छ ।

आठ वटा वडा रहेको खजुरामा प्रत्येक स्वास्थ्यकर्मीलाई एक वटा वडा हेर्ने गरी व्यवस्था मिलाइएको स्वास्थ्य शाखाले जनाएको छ । स्वास्थ्यकर्मीले नियमित रुपमा सुगर र रक्तचापको परिक्षण तथा चेकजाँच, कान तथा आँखाको परिक्षण लगायत सुगर तथा प्रेसरको औषधि पनि निःशुल्क वितरण गर्दै आइरहेका छन् ।

विभिन्न कारणले स्वास्थ्य सेवामा पहुँच नभएका नागरिकलाई स्वास्थ्य सेवाको दायरामा ल्याउने तथा समयमै स्वास्थ्य परिक्षण गरी रोगको जटिलताबाट बचाउन बार्षिक २० लाख रुपैयाँ बिनियोजन गरी जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम सञ्चालनका लागि प्रत्येक वडामा एक जना स्वास्थ्यकर्मी रहने गरी आर्थिक बर्ष २०७९–०८० र २०८०–०८१ मा चार–चार जना गरी आठ जना स्वास्थ्यकर्मीलाई नियुक्त गरिएको छ । नियुक्त गरिएका स्वास्थ्यकर्मीले महिनाको एक पटक घरघरमै गएर जेष्ठ नागरिकको स्वास्थ्य परिक्षण गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

नियुक्त भएका स्वास्थ्यकर्मीलाई पूर्णरुपमा समुदायमा रहेर स्वास्थ्य सेवा प्रदान गर्ने गरी कार्य विभाजन गरिएको छ । स्वास्थ्यकर्मीले आफ्नो वडामा रहेका जेष्ठ तथा अशक्त नागरिकको विवरण तयार गरी मासिक एक पटक अनिवार्य स्वास्थ्य सेवा प्रदान गर्नुपर्ने र सम्बन्धित वडामा रहेको स्वास्थ्य संस्थाबाट नियमित रुपमा अनलाइनमा डाटा इन्ट्री गर्नुपर्ने व्यवस्था छ ।

गाँउपालिकामा रहेका २६१८ जना जेष्ठ नागरिक र ४५० अशक्त नागरिकलाई मासिक एक पटक स्वास्थ्य परिक्षण कार्य गर्ने लक्ष्य लिइएको छ । जेष्ठ नागरिकसँग अध्यक्ष कार्यक्रम अन्तरगत ब्लड प्रेसर, सुगरको जाँच गर्नुका साथै उच्च रक्तचाप तथा मधुमेहको औषधि निःशुल्क रुपमा वितरण गर्दै आएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका अनुसार स्वास्थ्य परिक्षणको क्रममा जेष्ठ नागरिक तथा अशक्त नागरिकमा कुनै रोगको जटिलता देखिएमा ठुला र सुविधा सम्पन्न अस्पतालमा रिफर गर्ने गरिएको छ । साथै गाउँपालिकाले जेष्ठ नागरिक तथा अशक्त नागरिकलाई स्वास्थ्य सम्बन्धी विभिन्न सन्देमूलक स्वास्थ्य शिक्षा तथा परामर्श दिँदै आएको छ ।

प्रकाशित मिति : ३ चैत्र २०८०, शनिबार ११:०८

लोकप्रिय